नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल आगमनले आर्थिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले पुँजी पलायन, साइबर सुरक्षा र स्वदेशी कम्पनीको संरक्षणमा सरकार थप सजग हुनुपर्नेमा जोड दिए ।
सांसद बयकले विश्वव्यापी रूपमा फैलिएको आर्थिक सञ्जाल र डिजिटल भुक्तानीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै विधेयकले विदेशी सेवा प्रदायकलाई बजारमा प्रवेश गराउने प्रावधान ल्याउनु सकारात्मक कदम भएको बताए । यसले प्रविधि हस्तान्तरण र बजारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उनको अपेक्षा छ ।
उनले विधेयकका केही प्राविधिक पक्षमा गम्भीर प्रश्न उठाए । विशेष गरी विदेशी कम्पनीहरूले आर्जन गर्ने मुनाफा फिर्ता लैजाँदा मुलुकको विदेशी विनिमय सञ्चितिमा पर्न सक्ने प्रभावप्रति चिन्ता व्यक्त गरे ।
सांसद बयकले साइबर सुरक्षा र डेटा गोपनीयताको मुद्दालाई प्राथमिकताका साथ उठाए । बढ्दो डिजिटल वित्तीय अपराधलाई रोक्न कडा कानुनी प्रावधान आवश्यक रहेको औँल्याउँदै उनले स्वदेशी कम्पनीहरूलाई विदेशी दिग्गजहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन सरकारले संरक्षणमुखी नीति लिनुपर्ने आवश्यकतामा जोड दिए ।
उनले ई–कमर्स र पर्यटन प्रवद्र्धनका लागि यो विधेयक कोशेढुङ्गा साबित हुन सक्ने भए पनि आन्तरिक अर्थतन्त्रको सुरक्षा र स्वदेशी पुँजीको संरक्षणलाई नजरअन्दाज गर्न नहुने बताए ।
