काठमाडौं । आगामी केही दिन वर्षा हुने मौसम पूर्वानुमानपछि सरकारले सम्भावित विपद् जोखिम भएका स्थानमा सुरक्षा तयारी तीव्र बनाएको छ। सुरक्षा निकायले देशभर ६४९ वटा सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारी थालेका छन्।
विशेषगरी बढी वर्षा हुन सक्ने अनुमान गरिएको गण्डकी र लुम्बिनी प्रदेशमा सुरक्षा सतर्कता बढाइएको छ। ती क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सुरक्षाकर्मीलाई थप परिचालन गरिएको छ।
नदी किनारका बस्तीमा पूर्वसूचना
वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा माइकिङ तथा स्थानीयलाई सचेत गराउने काम भइरहेको छ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बागमती प्रदेशका रोशी, सुनकोशी, त्रिशूली र इन्द्रावती तथा मधेस प्रदेशका बलान र बिहुल खोलाको आसपासका क्षेत्रमा विशेष निगरानी भइरहेको छ।
काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्तीलाई समेत सम्भावित जोखिमबारे जानकारी गराउने काम भइरहेको प्रहरीले जनाएको छ।
गण्डकी र लुम्बिनीमा थप जनशक्ति
पहिचान गरिएका जोखिम क्षेत्रमध्ये गण्डकी र लुम्बिनीमा थप सुरक्षा जनशक्ति परिचालन गरिएको छ।
डीआईजी काफ्लेका अनुसार नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट विपद् व्यवस्थापनको प्रशिक्षण लिएका सुरक्षाकर्मीलाई यी दुई प्रदेशमा थप मद्दतका रूपमा पठाइएको छ।
स्थानीय तहका जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेका योजनाअनुसार सुरक्षा परिचालन तथा उद्धारसम्बन्धी तयारी अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
सशस्त्र प्रहरीका ११ हजारभन्दा बढी जनशक्ति परिचालन
सशस्त्र प्रहरी बलले पनि सम्भावित विपद् प्रभावित क्षेत्रमा ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार ११ हजार ७६३ जना सुरक्षाकर्मीलाई जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ। उनीहरूमध्ये विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका जनशक्ति पनि छन्।
उद्धारका लागि आवश्यक उपकरणसहित टोलीलाई तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
र्याफ्ट र मोटरबोटसहित गोताखोर तयारीमा
सम्भावित बाढी तथा डुबानको अवस्थालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले ८२ वटा र्याफ्ट बोट र ५३ वटा मोटरबोट तयारी अवस्थामा राखेको छ।
त्यसैगरी, गोताखोर, मेडिकल टोली तथा अन्य उद्धार जनशक्तिलाई पनि जोखिम भएका स्थानमा परिचालन गरिएको डीआईजी कार्कीले बताएका छन्।
नदी तटीय क्षेत्रमा स्थानीयलाई सावधानी अपनाउन सूचना दिने कामसमेत भइरहेको छ। नदी तथा खोलाको किनारमा दाउरा संकलन वा अन्य कामका लागि जाने व्यक्तिलाई सम्भावित जोखिमबारे जानकारी गराउन सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।
ड्रोनबाट पनि निगरानी
सम्भावित जोखिम भएका केही क्षेत्रमा खोज तथा उद्धारका लागि ड्रोन प्रयोग गर्न सक्ने टोलीसमेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
मधेस प्रदेशमा मात्रै ७४ वटा जोखिम क्षेत्र पहिचान भएका छन्। कमला, चारनाथ, बलान र बिहुल खोलाका तटीय क्षेत्रलाई सम्भावित जोखिमयुक्त क्षेत्रका रूपमा समेटिएको छ।
काठमाडौं उपत्यकामा पनि ५२ स्थानलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ।
मौसम सक्रिय रहेसम्म सतर्कता
मौसम आगामी ११ गतेसम्म सक्रिय रहन सक्ने आकलन गरिएको अधिकारीहरूले बताएका छन्। मौसमको अवस्था सामान्य नहुँदासम्म जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिने सशस्त्र प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को प्रतिकार्यका लागि आवश्यक तयारी गरिएको छ।
