काठमाडौं । देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेकाले बाढी तथा पहिरोको सम्भावना बढेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी सञ्चालनमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
महासंघले आजदेखि १२ गतेसम्म सार्वजनिक तथा मालवाहक सवारी सञ्चालन गर्दा मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा अघि बढाउन व्यवसायी, चालक तथा यात्रुलाई अपिल गरेको हो।
सडकको अवस्था बुझेर मात्र सवारी चलाउन आग्रह
मौसमविद् तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी पूर्वसूचनालाई आधार बनाएर महासंघले आफ्ना सदस्य संघ, समिति, कम्पनी तथा अन्य सम्बन्धित पक्षलाई सावधानी अपनाउन निर्देशन दिएको जनाएको छ।
महासंघका अनुसार जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालन गर्नुअघि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सडकको अवस्था बुझ्नुपर्नेछ।
विशेषगरी पहिरो तथा बाढीको सम्भावना भएका सडकमा अवस्था प्रतिकूल देखिएमा सवारी सञ्चालन नगर्न व्यवसायी तथा चालकलाई आग्रह गरिएको छ।
लामो दूरीको यात्रा सकेसम्म नगर्न सुझाव
महासंघका अध्यक्ष सरोज सिटौलाले प्रतिकूल मौसमका बेला यात्रुको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएकाले सवारी सञ्चालनमा अतिरिक्त सावधानी आवश्यक रहेको बताएका छन्।
उनले अत्यावश्यक कामबाहेक जोखिमयुक्त समयमा लामो दूरी तथा रातको समयमा यात्रा नगर्न यात्रुलाई समेत सुझाव दिएका छन्।
सिटौलाका अनुसार मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्ने तथा बाटोमा जोखिम देखिएमा जबर्जस्ती अघि नबढ्ने विषयमा चालक र व्यवसायीले विशेष ध्यान दिनुपर्छ।
यात्रुहरूलाई पनि पूर्वजानकारी लिन आग्रह
महासंघले यात्रा गर्नैपर्ने अवस्था भएमा प्रस्थान गर्नुअघि मौसम पूर्वानुमान, सडकको अवस्था तथा सम्बन्धित निकायबाट जारी सूचनाबारे जानकारी लिन आग्रह गरेको छ।
बाढी, पहिरो वा अन्य प्राकृतिक जोखिम देखिएका स्थानमा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्नसमेत महासंघले यात्रु र चालकलाई अनुरोध गरेको छ।
मौसममा सुधार नआएसम्म सम्भावित जोखिम भएका सडकखण्डमा आवश्यक सावधानी अपनाएर मात्रै यातायात सेवा सञ्चालन गर्नुपर्नेमा महासंघले जोड दिएको छ।
