भारतको राजधानी दिल्ली नजिकैको यमुना एक्सप्रेसवेमा बिहीवार बिहान गुडिरहेको एक निजी यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
ग्रेटर नोएडा क्षेत्रमा भएको यस दुर्घटनामा ज्यान गुमाउनेमा ८ पुरुष र १ महिला रहेका छन्। स्थानीय प्रहरीका अनुसार दिल्लीबाट उत्तर प्रदेशको महोबा जिल्लातर्फ गइरहेको ‘स्लिपर’ बसमा बुधबार मध्यरातपछि एक्कासी आगलागी भएको हो। बसमा करिब ३५ जना यात्रु सवार रहेको बताइएको छ।
एक्कासी बसभित्र आगोको मुस्लो देखिन थालेपछि यात्रुहरूबीच भागदौड र त्रासको वातावरण सिर्जना भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार आगोको चपेटाबाट बच्न केही यात्रुहरूले गुडिरहेको बसबाटै हाम्फालेका थिए।
घटनास्थलमा पुगेको प्रहरी र उद्धार टोलीले आगलागी नियन्त्रणमा लिनुका साथै घाइतेहरूको उद्धार गरेको थियो। घटनामा ज्यान गुमाउनेहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
आगलागीको यकिन कारण तत्काल खुल्न सकेको छैन। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै फोरेन्सिक टोलीलाई घटनास्थलमा बोलाइएको छ। टोलीले आगलागीको स्रोत र कारण पत्ता लगाउन प्रमाण संकलन गरिरहेको छ।
प्रारम्भिक अनुमानअनुसार प्राविधिक गडबडी वा सर्ट सर्किट आगलागीको कारण हुन सक्ने आशंका गरिएको छ। तर यसको आधिकारिक पुष्टि भने अनुसन्धानपछि मात्र हुने बताइएको छ।
