चीनले बिहीवार उत्तरपश्चिमी चीनको सान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइटहरूको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ।
बेइजिङ समयअनुसार ४ः४६ बजे प्रक्षेपण गरिएको ‘याओगान–४० ०४’ समूहका उपग्रहहरू आफ्नो पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन्। चीनको अन्तरिक्ष अन्वेषणका लागि यो एक महत्वपूर्ण कदम मानिएको छ।
संशोधित ‘लङ मार्च–६’ क्यारियर रकेटको सहायताले ती उपग्रहहरूलाई अन्तरिक्षमा पठाइएको हो। चिनियाँ अन्तरिक्ष निकायका अनुसार यी उपग्रहहरूको मुख्य उद्देश्य इलेक्ट्रोम्याग्नेटिक वातावरणको पहिचान र सोसँग सम्बन्धित प्राविधिक परीक्षणहरू सञ्चालन गर्नु रहेको छ।
यो प्रक्षेपण ‘लङ मार्च’ क्यारियर रकेट श्रृंखलाको ६७० औँ मिसन हो। यसले चीनको अन्तरिक्ष प्रविधिमा हासिल गरिरहेको निरन्तर प्रगतिलाई पुनः एकपटक पुष्टि गरेको छ।
केही वर्षयता चीनले पृथ्वीको अवलोकन तथा वातावरण अनुसन्धानका लागि दर्जनौँ रिमोट सेन्सिङ स्याटेलाइटहरू प्रक्षेपण गरिसकेको छ।
विशेषज्ञहरूका अनुसार याओगान श्रृंखलाका यी उपग्रहहरूले वातावरणीय तथ्याङ्क संकलनमा सघाउ पुर्याउनेछन्, जसले भविष्यमा वैज्ञानिक अनुसन्धान र प्राविधिक विकासमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रक्षेपणका क्रममा सबै प्राविधिक प्रक्रियाहरू सामान्य रूपमा सम्पन्न भएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
