पाकिस्तानले बिहीवार अफगानिस्तानको भूभागमा रहेका ड्रोन लन्च साइटहरूलाई लक्षित गर्दै ‘प्रिसिजन एरियल’ र ‘ड्रोन स्ट्राइक’ गरेको छ।
इस्लामावादले उक्त कारबाहीलाई आफ्नो आत्मरक्षाको अधिकार भन्दै गत सेप्टेम्बर २३ मा पाकिस्तानी सीमामा भएका ड्रोन घुसपैठको जवाफी कारबाहीका रूपमा व्याख्या गरेको छ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले बिहीवार बिहान सामाजिक सञ्जालमार्फत उक्त कारबाहीको पुष्टि गरेका छन्। उनका अनुसार, सेप्टेम्बर २३ मा पाकिस्तानी आकाशमा प्रवेश गरेका ड्रोनलाई पाकिस्तानको हवाई प्रतिरक्षा प्रणालीले पहिचान गरी निस्तेज पारेको थियो।
सोही घटनाको जवाफमा ‘स्वयं–रक्षा’का लागि अफगानिस्तानका १० वटा सैन्य साइटमा आक्रमण गरिएको उनको दाबी छ। मन्त्री तरारले आक्रमण सैन्य उद्देश्यका लागि पूर्वपहिचान गरिएका स्थानमा मात्र केन्द्रित रहेको स्पष्ट पारेका छन्।
उनले अफगान सरकारलाई आफ्नो भूमि पाकिस्तानविरुद्ध हुने कुनै पनि शत्रुतापूर्ण गतिविधि रोक्न कडा चेतावनीसमेत दिएका छन्।
यता, अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पनि पाकिस्तानी सैन्य कारबाहीको पुष्टि गरेका छन्। टोलो न्युजका अनुसार बिहीवार स्थानीय समयअनुसार बिहान ३ बजे दक्षिणी अफगानिस्तानको कान्दाहार सहरको नवौँ जिल्लामा उक्त आक्रमण भएको थियो।
मुजाहिदले आक्रमण मरुभूमि क्षेत्रमा भएको र हालसम्म कुनै मानवीय क्षति वा भौतिक सम्पत्तिमा नोक्सानी नभएको जानकारी दिएका छन्।
दुई छिमेकी राष्ट्रबीचको यस घटनाले सीमा सुरक्षा र दुई देशबीचको कूटनीतिक सम्बन्धमा नयाँ चुनौती थपेको छ। अफगानिस्तानले पाकिस्तानी दाबीबारे विस्तृत अनुसन्धान गरिरहेको बताइएको छ भने पाकिस्तानले सीमा सुरक्षामा कुनै सम्झौता नगर्ने अडान कायम राखेको छ।
