संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समुद्री सतहको बढ्दो स्तरलाई मानव सभ्यताका लागि गम्भीर संकटको संज्ञा दिँदै यसको मूल कारण न्यूनीकरणका लागि तत्काल ठोस कदम चाल्न विश्वका शक्तिशाली राष्ट्रहरूलाई आह्वान गरेका छन्।
उनले सन् २०३५ सम्ममा विश्वव्यापी कार्बन उत्सर्जन ६० प्रतिशतले घटाउनुपर्नेमा जोड दिएका छन्। बिहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि जान नदिन तत्काल उत्सर्जनको गति घटाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले नवीकरणीय ऊर्जाको प्रयोग तीन गुणा बढाउन र ऊर्जा दक्षता दोब्बर बनाउन विकसित राष्ट्रहरूलाई आग्रह गरेका छन्।
‘जी–२० राष्ट्रहरूले नेतृत्व लिनुपर्छ र टर्कीमा हुने कोप–३१ जलवायु सम्मेलनले प्रभावकारी नतिजा दिनैपर्छ,’ उनले भने।
हाल करिब ७७ करोड मानिस समुद्री तटको उच्च ज्वारभाटाको रेखाबाट ५ मिटरभन्दा कम उचाइमा बसोबास गरिरहेका छन्। यदि समयमै अनुकूलन र न्यूनीकरणका उपायहरू अवलम्बन नगर्ने हो भने सन् २१०० सम्ममा तटीय सहर र समुदायहरूले भोग्ने जोखिम दश गुणाले बढ्ने चेतावनी गुटेरेसले दिएका छन्।
समुद्री सतहको वृद्धिले अर्थतन्त्र, व्यापार, पूर्वाधार र खाद्य प्रणालीमाथि समेत असर गरिरहेको उनले बताएका छन्।
सन् २०२४ मा समुद्री सतहको वृद्धि झन्डै ६ मिलिमिटर पुगेको छ, जुन अहिलेसम्मकै उच्च वार्षिक वृद्धि हो। इन्टरगभनमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी)का अनुसार सर्वोत्तम अवस्थामा पनि शताब्दीको अन्त्यसम्ममा समुद्री सतह आधा मिटर बढ्ने निश्चितजस्तै छ। उत्सर्जनमा कटौती नभए यो वृद्धि एक मिटरसम्म पुग्न सक्ने आकलन गरिएको छ।
गुटेरेसले बढ्दो समुद्री सतहका कारण कुनै राष्ट्रको भूमि डुबानमा परे पनि त्यसले राज्यको अस्तित्व र अधिकार समाप्त नहुने कानुनी पक्षमा समेत जोड दिएका छन्।
‘समुद्री सतहको वृद्धि मिलिमिटरमा मापिन्छ, तर यसको क्षति करोडौँ मानिसको जीवन, उनीहरूको संस्कृति र भविष्यसँग जोडिएको छ। विश्वले अब ढिला नगरी यो संकटको जवाफ दिनुपर्छ,’ उनले भने।
