असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोले मनाङ जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ।
मस्र्याङ्दी नदी र स्थानीय खोलामा आएको बाढीले दर्जनौँ घर बगाउनुका साथै सडक तथा सञ्चार सम्पर्क विच्छेद गराएको छ। विशेषगरी नार्पा भूमि गाउँपालिकामा पर्वतारोही दलका सदस्यहरू सम्पर्कविहीन भएपछि जिल्लाको अवस्था गम्भीर बनेको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद टेकबहादुर गुरुङले मनाङमा उत्पन्न विषम परिस्थितिबारे सदनलाई जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराए।
बाढीले सदरमुकाम चामे र नासोँ गाउँपालिकाको ताल गाउँमा दर्जनौँ घरमा क्षति पुर्याएको छ। चामे–खाङसार सडकखण्ड पूर्ण रूपमा बन्द हुँदा यातायात सेवा अवरुद्ध भएको छ भने विभिन्न स्थानका मोटरेबल पुलसमेत बगेका छन्।
सभामुखमार्फत सरकारसँग माग राख्दै सांसद गुरुङले नार्पा भूमिमा हिमलुङ हिमाल आरोहण गर्न गएका २७ जना नेपाली सहयोगीमध्ये दुई जनाको मृत्यु भएको र १४ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए। बाँकी ११ जना सम्पर्कमा आए पनि उनीहरूको उद्धार जटिल बनेको उनले बताए।
बाटोघाटो र पुलपुलेसा भत्किँदा सयौँ आन्तरिक तथा बाह्य पर्यटक मनाङका विभिन्न स्थानमा अलपत्र परेको उनले बताए।
वर्षा र हिमपातका कारण हिमाली क्षेत्रको एकमात्र बाली नष्ट भएपछि जिल्लामा खाद्य संकटको जोखिम बढेको छ। पर्यटन सिजनमै आएको यस विपत्तिले पर्यटन व्यवसायीलाई समेत ठूलो आर्थिक नोक्सानी पुर्याएको छ।
अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा तत्काल सुचारु नहुँदा राहत र उद्धारको काममा कठिनाइ भइरहेको भन्दै सांसद गुरुङले तत्काल सरकारी टोली परिचालन गर्न माग गरे।
