मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी आजै विस्फोट गरेर खोल्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले नदी थुनिएको स्थानमा विस्फोट गर्ने निर्णय गर्दै नेपाली सेनाको विस्फोटक पदार्थ व्यवस्थापन तथा प्राविधिक टोली बोलाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।
उनका अनुसार काठमाडौंबाट नेपाली सेनाको विस्फोट प्राविधिक टोली आएपछि आवश्यक प्रक्रिया पूरा गरी आजै थुनिएको नदी खोल्ने तयारी गरिएको छ।
पौडेलले विस्फोटका लागि आवश्यक सामग्री मनाङकै स्थानीय तहसँग रहेको जानकारी दिए।
आइतबार ठाडो खोला र घट्टे खोलामा आएको बाढी तथा पहिरोले कटान गर्नुका साथै घर, पुल र सडकमा क्षति पुर्याएको थियो। आइतबार साँझ घट्टे खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएको थियो।
मर्स्याङ्दी नदी थुनिएपछि स्थानीयहरू त्रसित भएर जंगल, सामुदायिक भवन तथा ब्यारेकमा रात बिताएका थिए।
मौसम खुलेसँगै चामेवासीहरू सोमबार बिहानै घर फर्किएका थिए।
