राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले विपद् जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रसँग समेत समन्वय गर्न आवश्यक रहेको बताएकी छन्।
सोमबार काठमाडौंमा आयोजित ‘विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी कानुनी प्रावधान र कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालको सीमासँग जोडिएका राष्ट्रसँग कूटनीतिक संवाद अघि बढाउनुपर्ने बताएकी हुन्।
उनले विपद् नेपालमा मात्र सीमित विषय नभएकाले सीमावर्ती राष्ट्रसँग समन्वय र संवाद आवश्यक रहेको बताइन्। छिमेकी मित्रराष्ट्रसँग मात्र नभई अन्तर्राष्ट्रिय तहमा समेत कूटनीतिक पहल र संवाद सुरु गर्नुपर्ने उनको भनाइ थियो।
सांसद लामाले विपद्जन्य पूर्वसूचना प्रणालीलाई समेत थप प्रभावकारी बनाउन आवश्यक रहेको बताइन्। प्रभावकारी पूर्वसूचना प्रणालीले विपद्का बेला धेरैको ज्यान जोगाउन सकिने उनको भनाइ थियो।
उनले विपद् जोखिम न्यूनीकरणका लागि सीमासँग जोडिएका राष्ट्रसँग कूटनीतिक संवाद सुरु गर्नुपर्ने बताइन्। साथै, छिमेकी राष्ट्रसँग मात्र नभई अन्तर्राष्ट्रिय तहमा समेत कूटनीतिक पहल र संवाद अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।
सरकारले रसुवा बाढीमा परेकाहरूको उद्धार तथा राहत वितरणमा ढिलाइ गरेको उनको आरोप थियो। उनले बाढी प्रभावित क्षेत्रमा तत्काल पुनःस्थापना तथा पुनर्निर्माणको काम सुरु गर्न सरकारसँग माग गरिन्।
