असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुलुकको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पुर्याएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार विभिन्न करिडोरका २७ भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुग्दा करिब १ हजार मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सोमवार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै बाढीले जलविद्युतको उत्पादन र वितरण दुवै संरचनामा क्षति पुर्याएको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठका अनुसार कालीगण्डकी करिडोरका १३ र अन्य नदी बेसिनका १४ वटा गरी कुल २७ वटा आयोजनाको करिब १ हजार मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ ।
क्षतिग्रस्त संरचनाहरूमध्ये निलगिरी १, २, मिस्त्री, थापा खोला, रेले खोला र घलेम्दी लगायतका ७ आयोजनाको १९०.४ मेगावाट उत्पादन पुनः सञ्चालन गर्न केही महिना लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राहुघाट जलविद्युत आयोजनाको स्विचयार्डमा समेत कालीगण्डकी नदीको कटानबाट क्षति पुगेको छ । केही आयोजनाहरूको विद्युत आपूर्ति भने मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
हाल म्याग्दी र बागलुङमा पर्वतबाट वैकल्पिक लाइन जोडेर सेवा सुचारु गरिएको छ भने मुस्ताङ र मनाङमा विद्युत सेवा पुर्याउन प्राविधिक टोली परिचालन गरिएको छ । मन्त्री श्रेष्ठले विद्युत चुहावट रोक्न र अनावश्यक विद्युत खपत कम गर्न आग्रह गर्दै विद्यमान वितरण प्रणालीको स्तरवृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
विद्युत वितरण प्रणालीमा देखिएका समस्याबारे मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हाम्रो वितरण प्रणाली पुरानो छ र माग १० गुणा बढेको छ । अब हामी राष्ट्रिय प्रसारण लाइनको सुदृढीकरणमा केन्द्रित छौं ताकि पूर्व र पश्चिमबीच ऊर्जा आदानप्रदान सहज होस् ।’
उहाँले विद्युतीय सवारी साधनको भन्सार दर र अन्य नीतिगत विषयमा मन्त्रालयले आर्थिक ऐनका आधारमा पुनरावलोकन गर्ने संकेत समेत गरेका छन् ।
