अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अमेरिकी हतियार खरिद–बिक्रीका विषयमा कुनै छलफल नगरेको दाबी गरेका छन् ।
यो विषय चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्यूको पछिल्लो अभिव्यक्तिपछि चर्चामा आएको हो । पर्ड्यूले फक्स न्युजको कार्यक्रममा ट्रम्प र सीबीचको भेटका क्रममा अमेरिकी हतियार खरिद गर्ने विषयमा कुराकानी भएको बताएका थिए ।
पर्ड्यूका अनुसार सीले ताइवानलाई अमेरिकी हतियार बिक्री नगर्न आग्रह गरेका थिए । त्यसक्रममा ट्रम्पले हतियार बिक्रीलाई सामान्य अन्तर्राष्ट्रिय व्यापारको विषयका रूपमा लिनुपर्ने धारणा राख्दै चीनले पनि अमेरिकी हतियार खरिद गर्न चाहन्छ कि भनेर सीलाई प्रश्न गरेको बताएका थिए ।
तर पर्ड्यूले यस्तो कुराकानी कुन भेटमा भएको हो भन्ने स्पष्ट खुलाएका थिएनन् ।
राजदूतको भनाइ सार्वजनिक भएपछि अमेरिकी विदेश मन्त्रालयले चीनलाई हतियार बिक्री गर्ने कुनै प्रस्ताव वा योजना नरहेको स्पष्ट पारेको थियो । मन्त्रालयले अमेरिकी कानूनले चीनलाई हतियार बिक्रीमा प्रतिबन्ध लगाएको समेत उल्लेख गरेको थियो ।
त्यसपछि पत्रकारहरूले पर्ड्यूको अभिव्यक्तिबारे प्रश्न गर्दा ट्रम्पले सीसँग त्यस्तो कुराकानी आफूलाई स्मरण नभएको बताएका छन् । उनले आफूले यस विषयमा सीसँग कुरा नगरेको दाबी गर्दै चिनियाँ राष्ट्रपतिसँगको छलफल ताइवानको विषयमा केन्द्रित भएको हुनसक्ने बताएका छन् ।
यससँगै अमेरिकी प्रशासनभित्रकै दुई फरक अभिव्यक्तिले ट्रम्प–सी भेटमा हतियार बिक्रीबारे वास्तवमै के कुराकानी भएको थियो भन्ने विषयमा प्रश्न उठेको छ ।
