मनाङ । अविरल वर्षापछि घट्टेखोलामा थुप्रिएको लेदो, ढुंगा, गिट्टी र बालुवाका कारण अवरुद्ध भएको मर्स्याङ्दी नदीको बहाव खुलाउने प्रयास सुरु गरिएको छ।
नदी थुनिएर बनेको तालबाट पानीलाई सुरक्षित रूपमा निकास दिने उद्देश्यले स्थानीयस्तरमा उपलब्ध उपकरण प्रयोग गरेर काम अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
उनका अनुसार नदीको धार परिवर्तन गरी पानी केही मात्रामा बग्न थालेको छ। घटनास्थलमा उपलब्ध एक्साभेटरलगायत उपकरण प्रयोग गरेर अवरोध हटाउने काम भइरहेको छ। तर, ठूलो आकारका चट्टानसमेत रहेकाले ती हटाउन थप तयारी आवश्यक देखिएको छ।
नदीको बहाव पुलको माथिल्लो भागबाट समेत परिवर्तन भएपछि आसपासका केही घर डुबानमा परेको जनाइएको छ।
स्थानीय स्रोतसाधनबाट तत्काल काम अघि बढाउने प्रयास
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर नदीको बहाव खुलाउन सके प्रभावित बासिन्दालाई छिट्टै सुरक्षित रूपमा घर फर्काउन सकिने बताएका छन्।
ठूला चट्टान विस्फोट गराएर हटाउने विकल्पमा समेत छलफल भइरहेको छ। तर, विस्फोटका कारण मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने अध्यक्ष घलेको भनाइ छ।
उनका अनुसार एक्साभेटरको माध्यमबाट सम्भव भएसम्म नदीमा अड्किएका ढुंगा हटाउन सके तटीय क्षेत्रमा हुने सम्भावित क्षति कम गर्न सकिनेछ।
विस्फोटमार्फत चट्टान हटाउनेबारे अध्ययन
लमजुङ हिमाल क्षेत्रतर्फ रहेको घट्टेखोलाबाट बगेर आएको लेदोसहितको ठूलो ढुंगा तथा चट्टानका कारण मर्स्याङ्दी नदीको बहाव अवरुद्ध भएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार वरपरको क्षेत्रमा थप क्षति नहुने गरी आवश्यक परे विस्फोटको माध्यमबाट चट्टान हटाउने विषयमा अध्ययन भइरहेको छ। नदीको प्राकृतिक बहावलाई पुरानै अवस्थामा फर्काउन सके स्थानीय बासिन्दामा रहेको त्रास कम हुने अपेक्षा गरिएको छ।
बाढीपहिरोले पूर्वाधारमा पनि असर
बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चार तथा इन्टरनेट सेवा प्रभावित भएका छन्। सडक सञ्जालसमेत पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीयको आवतजावत कठिन बनेको छ।
ङिस्याङ गाउँपालिका–४ हुम्दे आसपासका बस्तीमा बाढी र पहिरोका कारण घरभित्र पानी तथा हिलो पसेको जनाइएको छ।
सब्जे खोलाबाट सञ्चालनमा रहेको लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि स्थानीय क्षेत्रमा विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ।
मनाङमा यसअघि पनि बाढीपहिरोले ठूलो क्षति पुर्याइसकेको छ। २०७८ सालमा घट्टेखोला, ठाडोखोला र मर्स्याङ्दी नदीमा आएको बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा उल्लेख्य भौतिक क्षति भएको थियो।
