रसुवा । विपद्बाट प्रभावित बालबालिकाको सुरक्षा, सिकाइ तथा मनोसामाजिक सहयोगलाई ध्यानमा राख्दै रसुवाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ।
भोटेकोशी बाढीपछि प्रभावित बालबालिकालाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा यी केन्द्र सञ्चालनमा ल्याएको हो।
स्थापना गरिएका १३ केन्द्रमध्ये हालसम्म नौ वटा पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन्। बाँकी चार केन्द्र सञ्चालनको तयारीमा रहेको नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले जनाएको छ।
हाल सञ्चालनमा रहेका बालमैत्री केन्द्रमा ४६२ जना बालबालिका सहभागी छन्। उनीहरूमध्ये २१९ जना बालक र २४३ जना बालिका रहेका छन्।
खेलकुद र सिर्जनात्मक गतिविधिमा सहभागिता
बालबालिकाको उमेर तथा आवश्यकताअनुसार केन्द्रहरूमा विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्। खेलकुद, मनोरञ्जन, सिकाइ तथा सिर्जनात्मक कार्यक्रमसँगै बालबालिकालाई मनोसामाजिक सहयोगसम्बन्धी गतिविधिमा समेत सहभागी गराइएको छ।
विपद्पछि उत्पन्न तनावपूर्ण परिस्थितिबाट बालबालिकालाई सहज रूपमा अघि बढ्न सहयोग गर्ने उद्देश्यले केन्द्रमा उनीहरूलाई आफ्ना भावना व्यक्त गर्ने, साथीहरूसँग घुलमिल हुने र विभिन्न रचनात्मक काममा सहभागी हुने अवसर दिइएको छ।
पाँच वर्षमुनिका ८८ बालबालिका
केन्द्रमा सहभागी ४६२ बालबालिकामध्ये ८८ जना पाँच वर्षभन्दा कम उमेरका छन्। पाँच वर्षभन्दा माथिका बालबालिकाको संख्या ३७४ रहेको छ।
नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाका अनुसार केन्द्रमा सहभागीमध्ये एक जना अपाङ्गता भएका बालबालिका पनि रहेका छन्।
विपद्पछि बालबालिकाको संरक्षण र उनीहरूको सामाजिक तथा मनोसामाजिक अवस्थालाई ध्यानमा राखेर सञ्चालन गरिएका यी केन्द्रहरूले प्रभावित परिवारका बालबालिकालाई सुरक्षित र बालमैत्री वातावरण उपलब्ध गराइरहेका छन्।
