होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन् ।
भोटेकोशी बाढीले नेपालको पर्यटकीय क्षेत्रमा नकारात्मक असर पारेकाले त्यसको पुनरुत्थानका लागि तत्काल प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्ने उनले बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।
नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि भारत र चीनलगायतका प्रमुख पर्यटकीय बजारमा तत्काल प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् । भोटेकोशी करिडोरमा आएको विपत्तिले अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नकारात्मक सन्देश जानसक्ने भएकाले त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाइ छ ।
उनले विपद् प्रभावित क्षेत्र र सामान्य अवस्थामा रहेका पर्यटकीय गन्तव्यबीचको भिन्नता स्पष्ट पार्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष शाहले काठमाडौं, चितवन र पोखरालगायतका प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले दशैं–तिहारको पर्यटकीय सिजनअघि नै भारत र चीनमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डको मुख्य जिम्मेवारी पर्यटन प्रवद्र्धन र सहजीकरण भएकाले विपद्पछिको अवस्थामा यस्ता कार्यक्रमलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘नेपाल टुरिजम बोर्डले दशैं–तिहार अगाडि नै भारत र चीनमा गएर नेपाल प्रमोसन गर्नुपर्ने आवश्यकता छ । भोटेकोशीको करिडोरमा यो विपत्ति भएको हो, नेपालभरि होइन । नेपाल काठमाडौं, चितवन, पोखरालगायत त सबै नर्मल नै छ । यो मेसेज हामीले स्ट्रङ्ली दिनुपर्छ । संसारभरि छरिएका नेपाली एम्बेसीहरू, नेपाल टुरिजम बोर्ड र हामी निजी क्षेत्र सबै यसमा लागि परेका छौँ । अझ यसलाई स्टेप–अप गर्नुपर्छ, अझ बढाउनुपर्छ । प्रवद्र्धन कार्यक्रम अविलम्ब छिटोभन्दा छिटो जानैपर्ने अवस्था छ । त्यो गरेको खण्डमा हामीले धेरै बजार गुमाउँदैनौँ । फेरि पनि हामीले त्यसलाई रिकभर गर्न सक्ने अवस्था छ ।’
उनका अनुसार नेपाल आउने पर्यटकहरू अधिकांश पदयात्रा, पर्वतारोहण र र्याफ्टिङजस्ता साहसिक पर्यटनमा आकर्षित हुने गरेका छन् । यस्ता पर्यटक जोखिमबारे जानकार हुने भएकाले प्राकृतिक विपत्तिका कारण समग्र नेपालको पर्यटन प्रभावित हुने अवस्था आउन नदिन वास्तविक अवस्थाबारे सही सूचना सम्प्रेषण गर्नुपर्ने उनले बताएका छन् ।
उनले भूकम्प र कोभिड महामारीका बेला पनि नेपाली पर्यटन क्षेत्रले चुनौती सामना गरेको स्मरण गर्दै यसपटक पनि सरकार र निजी क्षेत्रबीच समन्वय गरेर योजनाबद्ध रूपमा अघि बढे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय एयरलाइन्समार्फत नेपालको प्रवद्र्धन गर्न सुझाव
अध्यक्ष शाहले नेपालको पर्यटन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको विश्वव्यापी सञ्जाललाई समेत उपयोग गर्नुपर्ने बताएका छन् । टर्किस एयरलाइन्स, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक र कतार एयरवेजलगायतका एयरलाइन्ससँग सहकार्य गरी नेपाल भ्रमणसम्बन्धी सकारात्मक सन्देश विश्व बजारमा पुर्याउनुपर्ने उनको भनाइ छ ।
नेपालमा पर्यटकको आगमन बढ्दा एयरलाइन्सको व्यवसायसमेत विस्तार हुने भएकाले नेपालको पर्यटन प्रवद्र्धनमा उनीहरूको सहकार्य उपयोगी हुने उनले बताएका छन् । पोखरामा सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दैनिक उडान सुरु गरेपछि नेपालको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्किरहेको सन्देश गएको उनको भनाइ छ ।
विपद्पछिको पर्यटन पुनरुत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार, नेपाललाई सहयोग गर्न इच्छुक संस्था र व्यक्तिहरूलाई एकीकृत गर्दै स्पष्ट कार्ययोजनासहित अघि बढ्न आवश्यक रहेको उनले बताएका छन् । नेपालको पर्यटन क्षेत्रसँग चुनौती सामना गरेको अनुभव र पुनरुत्थान गर्ने क्षमता दुवै रहेको उनको भनाइ छ ।
उनले भने, ‘विपद्पछि हामी योजनाबद्ध किसिमले अगाडि जानुपर्छ । यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय नेपाललाई माया गर्ने संस्थाहरू र व्यक्तिहरूलाई संगठित गराएर हामीले एउटा मास्टर प्लान बनाएर अगाडि जानुपर्छ । हामीले सरकारलाई के पनि भनिरहेका छौँ भने संसारका १० वटा ठूला–ठूला एयरलाइन्समध्ये ५–६ वटा नेपालमा आउनुहुन्छ । संसारभरि उहाँहरूको जुन रिच छ, त्यसलाई हामीले पर्यटन प्रवद्र्धनमा प्रयोग गर्नुपर्छ । अन्तर्राष्ट्रिय एयरलाइन्सहरू जस्तो टर्किस एयर, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक, कतार एयरवेजलाई हामीले रिक्वेस्ट गरेर संसारभरिमा नेपाल ठीक छ, नेपाल घुम्न जानुहोस् भनेर प्रचार–प्रसार गर्न लगाउनुपर्छ । नेपालमा बढी पर्यटक आउनु भनेको उहाँहरूको पनि बिजनेस बढ्ने हो । अर्को, पोखरामा फ्लाई दुबईले डेली फ्लाइट सुरु गरेको छ । सेप्टेम्बर २३ देखि त्यसले पनि संसारभरि सकारात्मक म्यासेज गएको छ । हामीले दशैं–तिहार अगाडि नै एउटा योजनाबद्ध किसिमले मास्टर प्लान बनाएर अगाडि बढेको खण्डमा सिजनमा हामीले धेरै नोक्सानी बेहोर्नुपर्दैन । पर्यटकलाई फेरि पुनरुत्थान गर्न सक्ने हामीसँग त्यो क्षमता छ, अनुभव छ । सरकार र हामी निजी क्षेत्र हातेमालो गरेर बढेकै छौँ ।’
उनले दशैं–तिहारको मुख्य पर्यटकीय सिजनमा हुनसक्ने आर्थिक क्षति न्यूनीकरण गर्न तत्काल प्रवद्र्धन, प्रभावकारी सूचना सम्प्रेषण र समन्वित कार्ययोजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । पछिल्लो समय पर्यटकको बुकिङ रद्द हुने क्रम घट्दै गएको उनको भनाइ छ ।
साथै उनले पर्यटन व्यवसायी, होटलका कर्मचारी तथा विपद्बाट प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउन पनि आग्रह गरेका छन् । होटल संघले आफ्ना अन्तर्राष्ट्रिय सम्पर्क र ट्राभल एजेन्टमार्फत ‘नेपाल कलिङ, नेपाल नाउ’ अभियान सञ्चालन गर्दै नेपाल भ्रमणका लागि सुरक्षित र उपयुक्त गन्तव्य रहेको सन्देश प्रवाह गरिरहेको उनको भनाइ छ ।
