काठमाडौँ । नेपाल–चीनबीचको व्यापारिक आवागमनलाई थप सहज बनाउने उद्देश्यले कोदारी नाकाको स्थलगत अनुगमन गरिएको छ। नेपाल सरकारको उच्चस्तरीय टोलीले चिनियाँ पक्षसँग समन्वय गर्दै सीमा नाका तथा त्यहाँसम्म पुग्ने सडकको अवस्थाबारे निरीक्षण गरेको हो।
परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीमा परराष्ट्र, अर्थ तथा पूर्वाधार विकास मन्त्रालयका अधिकारीसँगै सडक विभाग र सडक डिभिजन चरीकोटका प्रतिनिधि सहभागी थिए। टोलीले सिन्धुपाल्चोकका स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समेत समन्वय गरी नाकाको वर्तमान अवस्था र देखिएका समस्याबारे जानकारी लिएको थियो।
अनुगमनका क्रममा विशेषगरी कोदारी नाकासम्म पुग्ने सडकको भौतिक अवस्था, यातायात सञ्चालनमा देखिएका प्राविधिक समस्या तथा त्यसले सीमा व्यापारमा पार्न सक्ने प्रभावबारे अध्ययन गरिएको थियो।
नेपाली पक्षले सडकको कमजोर अवस्थाका कारण भविष्यमा नाका सञ्चालनमा दीर्घकालीन समस्या नआओस् र वस्तुको आपूर्ति तथा आवागमन व्यवस्थित रहोस् भन्ने विषयमा जोड दिएको छ।
अनुगमनपछि भएको छलफलमा नेपाली प्रतिनिधिमण्डलले सीमा क्षेत्रको पूर्वाधार सुधार तथा नाका सञ्चालनलाई प्रभावकारी बनाउन चिनियाँ पक्षसँग सहकार्यको आवश्यकता औँल्याएको थियो। दुई देशबीचको व्यापारिक गतिविधि बढाउन आवश्यक पूर्वाधारलाई प्राथमिकताका साथ सुधार गर्न पनि आग्रह गरिएको छ।
सीमा सडकको मर्मत तथा सुधारका लागि आवश्यक काम अघि बढाउने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको जनाइएको छ। नाका सञ्चालनका क्रममा देखिएका व्यावहारिक समस्या समाधान गर्न पनि चिनियाँ पक्षले सहकार्य गर्ने संकेत दिएको छ।
स्थानीय प्रशासनले नाका क्षेत्रमा सुरक्षा तथा व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।
कोदारी–तातोपानी नाकालाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न गरिएको यो पहलले नेपाल–चीनबीचको व्यापार तथा आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
