वीरगञ्ज महानगरपालिकाले लामो समयदेखि जलजमावको समस्या झेल्दै आएका वडा नम्बर १७, २५ र २६ मा पानी निकासको व्यवस्था मिलाएको छ।
महानगरपालिकाले डोजर परिचालन गरेर नयाँ नाला निर्माण तथा पुराना निकास मार्गको सफाइ गरेपछि वर्षाको पानी बाहिर जाने बाटो खुलेको जनाएको छ।
पानीको उचित निकास नहुँदा यी वडाअन्तर्गतका सुगौली, अलौलगायतका बस्तीमा वर्षायाममा ठूलो क्षेत्र डुबानमा पर्ने गरेको थियो। लामो समयसम्म पानी जमिरहँदा स्थानीयको दैनिक आवतजावत प्रभावित हुनुका साथै कृषि उत्पादनमा पनि असर परेको थियो।
स्थानीयका अनुसार बस्तीमा पानी थुप्रिँदा लामखुट्टेको संख्या बढ्ने, दुर्गन्ध फैलिने र विभिन्न स्वास्थ्य समस्या देखिने अवस्था थियो।
महानगरपालिकाले अवरुद्ध रहेका निकास मार्ग सफा गर्नुका साथै आवश्यक स्थानमा नाला निर्माण गरेर पानीको प्रवाह सहज बनाएको जनाएको छ।
पानी निकासको समस्या समाधान गर्न थालिएको कामपछि सुगौली, अलौल र आसपासका बासिन्दाले आगामी वर्षायाममा विगतमा जस्तो लामो समयसम्म जलमग्न हुनुपर्ने अवस्था कम हुने अपेक्षा गरेका छन्।
