पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलवार रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीसँग सरसल्लाह गरी यस क्षेत्रमा रहेका समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
नेता भण्डारीले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको पनि बताएका छन् ।
उनले आफूले पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारीसमेत लुम्बिनीमै पाएको स्मरण गर्दै फेरि वरिष्ठ नेताका रूपमा समेत यही क्षेत्रबाट सक्रिय हुन पाउँदा खुशी लागेको बताएका छन् ।
भण्डारीले एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोमा खुशी व्यक्त गर्दै औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुंगो लाग्न बाँकी रहेको बताएका छन् ।
उनले भने, ‘मलाई पहिलो पटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रदान गरिएको थियो । सोही समयमा हामीले यो ठाउँलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदानलगायतका पूर्वाधार बनाउनुपर्छ भन्ने कुरा भएको थियो । त्यो सबै आज पूरा भएको छ । हामी सबैका लागि खुशीको कुरा हो । आज यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ, राम्रा बाटो पनि बनेका छन् । अब उद्योग व्यवसायलाई कसरी अगाडि बढाउने ? उद्योग व्यवसायमा लागेका मित्रहरूसँग सरसल्लाह गरी औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै हामी अगाडि बढ्नुपर्ने छ । विश्वमै प्रसिद्ध लुम्बिनी यी सबै संरचना बनेपछि झनै प्रसिद्ध भएको छ । सुखद् संयोग भन्नुपर्छ, यो पार्टीले मलाई वरिष्ठ नेता मनोनित गरेको छ । मैले त आफूलाई वरिष्ठ नेता भन्न चाहेको थिइनँ, सबैले भनेपछि मान्नुपरेको छ । औपचारिक रूपमा कसरी जिम्मेवारी सुरु गर्ने हो, टुंगो लागिसकेको छैन । तर पनि यहाँ गौरव लागेको छ ।’
हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो । वरिष्ठ नेता मनोनित भएपछि उनको यो उपत्यका बाहिरको पहिलो भ्रमण हो ।
