पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीसँगै जनता र राष्ट्रको हितमा सक्रिय भएर काम गर्ने बताएकी छन्।
एमालेले उनलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा भण्डारीले पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा थप सक्रिय हुने धारणा व्यक्त गरिन्। एमाले केन्द्रीय कमिटीले पनि उक्त निर्णय अनुमोदन गरिसकेको छ।
उनले राष्ट्रपति पदमा पुगिसकेपछि अब राजनीतिक जिम्मेवारीको अर्को चरणमा रहेर काम गर्ने इच्छा रहेको बताइन्। बाल्यकालदेखि नै एमालेसँग जोडिएर सामाजिक सेवा तथा सामाजिक विकृतिविरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै उनले पार्टी, समाज र राष्ट्रका लागि आफ्नो योगदान जारी राख्ने उल्लेख गरिन्।
भण्डारीले विगतको वाम आन्दोलनका क्रममा विभिन्न चुनौती सामना गरे पनि आफ्नो राजनीतिक आस्थाबाट विचलित नभएको बताइन्। नेतृत्वबाट भएका कमजोरीलाई स्वीकार गर्दै आवश्यक सुधारसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले विगतका पार्टी विभाजनले एमालेसँगै समग्र वाम आन्दोलनमा असर पारेको उल्लेख गरिन्। २०७४ सालको निर्वाचनमा वाम दलबीचको सहकार्यले सकारात्मक परिणाम दिएको भए पनि त्यसपछिको विभाजनले राजनीतिक क्षति पुगेको उनको भनाइ थियो।
भण्डारीले नेतृत्वको निर्णय र कमजोरीको प्रभाव पार्टीको तल्लो तहसम्म पर्ने भएकाले आन्तरिक कमजोरी सुधार्नुपर्नेमा जोड दिइन्। उनका अनुसार पार्टी र आन्दोलनलाई बलियो बनाउन आपसी एकता र जनताको विश्वास महत्वपूर्ण हुन्छ।
मूलधारका राजनीतिक दलमा विभाजन हुँदा त्यसको प्रभाव समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गर्दै उनले पार्टी एकताको आधार तत्कालीन आवश्यकता र राष्ट्रिय हितलाई बनाउनुपर्ने बताइन्। जिल्लादेखि राष्ट्रसम्मका आवश्यकतालाई ध्यानमा राखेर सहकार्य कायम गर्नुपर्ने उनको धारणा थियो।
एकपटकको निर्वाचन परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भण्डारीले आफू लामो समयदेखि आबद्ध रहेको राजनीतिक आन्दोलनलाई थप बलियो बनाउने इच्छा रहेको बताइन्। राष्ट्रिय स्वाभिमानको संरक्षण र नागरिकको जीवनस्तर सुधारलाई राजनीतिक कामको प्रमुख उद्देश्य बनाउनुपर्नेमा उनले जोड दिइन्।
उनले पार्टीलाई परिवारभन्दा फराकिलो सामाजिक संस्था भन्दै नयाँ र पुराना पुस्ताबीच दूरी बढ्न नदिनुपर्ने बताइन्। सबै पुस्तालाई समेटेर अघि बढ्दा संगठन थप सुदृढ हुने उनको धारणा थियो।
भण्डारीले सामाजिक परिवर्तनका लागि निरन्तर प्रयास आवश्यक हुने उल्लेख गर्दै शान्तिपूर्ण र सकारात्मक परिवर्तनका लागि लामो समयसम्म निरन्तर सक्रिय रहनुपर्ने बताइन्।
