राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्बन्धित घटनाबारे लिखित बयान लिएको छ।
आयोगको टोली जबराको अवस्था बुझ्न अनुसन्धान कार्यालय पुगे पनि प्रहरीले भेट गर्न अनुमति नदिएपछि आयोगले घटनाबारे स्पष्टीकरण लिन खड्कालाई बोलाएको थियो।
मंगलबार पुल्चोकस्थित आयोगको कार्यालयमा उपस्थित भएका एसएसपी खड्काले आयोगसमक्ष लिखित बयान दिएका हुन्। आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले खड्कासँग बयान लिइएको पुष्टि गरेका छन्।
प्रहरीले आइतबार जबरालाई पक्राउ गरी टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको थियो। त्यसपछि उनको अवस्थाबारे जानकारी लिन पुगेको आयोगको टोलीलाई कार्यालयको प्रवेशद्वारबाटै फर्काइएको थियो।
आयोगले उक्त घटनालाई लिएर चासो देखाउँदै अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई बयानका लागि बोलाएको थियो। आयोगको अनुसन्धान महाशाखाले घटनासम्बन्धी थप विवरण अध्ययन तथा अनुसन्धान गरिरहेको जनाएको छ।
