काठमाडौं — काठमाडौंस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा कार्यरत चिकित्सक तथा कर्मचारी र कलेज व्यवस्थापनबीच कार्यसमय तथा सेवा सुविधाको विषयलाई लिएर विवाद चर्किएको छ। आफ्ना माग सम्बोधन नभएको भन्दै चिकित्सक तथा कर्मचारीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
विवाद कलेज व्यवस्थापनले भदौ २४ गतेदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको नयाँ कार्यसमय लागू गर्ने निर्णय गरेपछि सुरु भएको हो। चिकित्सकहरूले उक्त निर्णय आफूहरूसँग पर्याप्त छलफल नगरी एकतर्फी रूपमा गरिएको दाबी गरेका छन्।
आन्दोलनरत पक्षका अनुसार पछिल्लो १२ वर्षदेखि पारिश्रमिक पुनरवलोकन भएको छैन। उनीहरूले नियुक्तिपत्रमा उल्लेख गरिएको कार्यसमय कार्यान्वयन गर्नुपर्ने तथा श्रम कानुनले सुनिश्चित गरेका विभिन्न सुविधा उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।
चिकित्सक तथा कर्मचारीहरूले वार्षिक तलब वृद्धि, महँगी भत्ता, सञ्चय कोष, उपदान, सामाजिक सुरक्षा कोषमा आबद्धता र बीमालगायतका विषय समेटेर २० बुँदे माग प्रस्तुत गरेका छन्।
उनीहरूले आफूहरू पूर्वनिर्धारित बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्मको समयअनुसार सेवा दिइरहेको बताएका छन्। मागबारे सुनुवाइ गर्नुको सट्टा आफूहरूमाथि मानसिक दबाब सिर्जना गरिएको दाबी गर्दै समाधानका लागि श्रम कार्यालय टेकुमा समेत निवेदन दिइएको उनीहरूको भनाइ छ।
माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलन अघि बढाउने चेतावनी चिकित्सकहरूले दिएका छन्। पहिलो चरणमा कालोपट्टी बाँध्ने, त्यसपछि ओपिडी तथा शैक्षिक गतिविधि बहिष्कार गर्ने र आवश्यक परे अनिश्चितकालीन आन्दोलनमा जाने उनीहरूको भनाइ छ।
व्यवस्थापनले पनि कारबाही अघि बढायो
यता कलेज व्यवस्थापनले भने आन्दोलनमा सहभागी चिकित्सक तथा कर्मचारीले अनुशासन उल्लंघन गरेको र अस्पतालको नियमित सेवामा असर पुर्याएको आरोप लगाएको छ।
व्यवस्थापनका अनुसार तोकिएको साँझ ५ बजेसम्मको कार्यसमय पूरा नगरी कार्यस्थलबाट बाहिरिने तथा सामूहिक रूपमा काम गर्न अस्वीकार गर्ने चिकित्सकलाई श्रम ऐन, २०७४ को दफा १३१ अनुसार स्पष्टीकरण सोधिएको छ। उनीहरूलाई सात दिनभित्र आवश्यक प्रमाणसहित लिखित जवाफ दिन निर्देशन दिइएको बताइएको छ।
विवादका क्रममा केही चिकित्सकको एक दिनको पारिश्रमिक कटौती गर्ने कदमसमेत व्यवस्थापनले चालेको छ। यसले चिकित्सक र कलेज प्रशासनबीचको सम्बन्ध थप तनावपूर्ण बनेको देखिएको छ।
उपचार सेवा प्रभावित हुने चिन्ता
कलेजमा कार्यरत चिकित्सकहरूको आन्दोलनले अस्पतालको ओपिडी तथा शैक्षिक गतिविधिमा असर पर्न सक्ने अवस्था देखिएको छ। स्वास्थ्य सेवा प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने भएकाले विवादलाई लामो समयसम्म कायम नराखी समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।
चिकित्सकहरूले आफूहरूको श्रम अधिकार र सेवा सुविधासम्बन्धी माग सम्बोधन हुनुपर्ने बताएका छन् भने व्यवस्थापनले अस्पतालको अनुशासन र नियमित सेवा सञ्चालनलाई प्राथमिकतामा राखेको जनाएको छ। दुवै पक्षबीच वार्ता र सहमतिबाट विवाद समाधान गर्न सके स्वास्थ्य सेवा तथा शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन गर्न सहज हुने देखिन्छ।
