काठमाडौं — उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार विदाइ भेटवार्ता भएको छ। उपराष्ट्रपति कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको हो।
भेटका क्रममा उपराष्ट्रपति यादवले आफ्नो कार्यकाल पूरा गरेका राजदूत श्रीवास्तवलाई बधाई दिँदै नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन उनले खेलेको भूमिकाको प्रशंसा गरे।
यादवले नेपालमा आएको हालैको बाढीका क्रममा भारत सरकारबाट उपलब्ध गराइएको मानवीय तथा विपद् राहत सहयोगप्रति समेत आभार व्यक्त गरे। साथै, विपद्का क्रममा प्रभावित भारतीय नागरिक तथा पर्यटकका परिवारप्रति उनले समवेदना प्रकट गरे।
राजदूत श्रीवास्तवको कार्यकालमा भएका विभिन्न द्विपक्षीय सहकार्यको पनि उपराष्ट्रपति यादवले स्मरण गरे। प्रतिनिधिसभा निर्वाचनका क्रममा भारतबाट प्राप्त सहयोग, दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता तथा नेपाल–भारतबीचका विभिन्न संयन्त्रलाई सक्रिय बनाउने कार्यलाई उनले महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे।
नेपाल र भारतबीच लामो समयदेखि कायम ऐतिहासिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन श्रीवास्तवले दिएको योगदान महत्वपूर्ण रहेको यादवले बताए। उनले राजदूतको आगामी कार्यकाल तथा व्यक्तिगत जीवनका लागि शुभकामनासमेत व्यक्त गरे।
भेटमा राजदूत श्रीवास्तवले आफ्नो नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध अझ नजिकिएको बताए। उनले नेपालमा बिताएको समय र नेपाली जनताको आत्मीयतालाई आफूले सधैं सम्झिरहने धारणा व्यक्त गरे।
