काठमाडौं — साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली सेयर बजारमा सामान्य गिरावट देखिएको छ। बजार परिसूचक नेप्से ९.६२ अंकले ओरालो लाग्दै २६०३.७१ विन्दुमा झरेर बन्द भएको हो।
बजार घटेसँगै कारोबारको आकार पनि अघिल्लो दिनको तुलनामा खुम्चिएको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार कुल कारोबार ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ।
दिनभर ३६३ वटा धितोपत्र कारोबारमा आएका थिए। तीमध्ये १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर किनबेच भएको छ।
बजारमा मंगलबार ६९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १९९ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन।
मूल्य वृद्धितर्फ आइसिएफसी फाइनान्सको डिबेन्चर २०८३ अगाडि रह्यो। यसको मूल्य ९.१८ प्रतिशत बढेर प्रतिकित्ता १ हजार ५६ रुपैयाँ पुगेको छ। सयपत्री हाइड्रोपावरको सेयर पनि ६.७९ प्रतिशत बढ्दै प्रतिकित्ता ५३५ रुपैयाँ पुगेको छ।
यता, सिटिजन सुपर ३० म्युचुअल फन्डको इकाइ मूल्य सबैभन्दा धेरै ५.४४ प्रतिशत घटेको छ। यसको मूल्य प्रतिइकाइ ९ रुपैयाँ २२ पैसा कायम भएको छ। आरबिबी म्युचुअल फन्डको मूल्य पनि ४.६७ प्रतिशत घटेर ९ रुपैयाँ ३९ पैसामा झरेको छ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी सबैभन्दा अगाडि रह्यो। कम्पनीको प्रतिकित्ता १ हजार २९७ रुपैयाँका दरले २२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कम्पनीको सेयर मूल्य १.९७ प्रतिशत घटेको छ।
त्यस्तै, शिवम् सिमेन्ट दोस्रो धेरै कारोबार हुने कम्पनी बनेको छ। कम्पनीको प्रतिकित्ता ६९० रुपैयाँका दरले १७ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र अन्य समूह मात्रै बढेका छन्। बाँकी ११ समूह ओरालो लागेका छन्। समूहगत गिरावटमा व्यापार समूह सबैभन्दा अगाडि रह्यो, जसको परिसूचक १.८७ प्रतिशत घटेको छ।
