काठमाडौं । नेकपा एमालेका हालै मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम असोज १५ गते बिहीबार आयोजना हुने भएको छ।
पार्टीको असोज पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले विधानमा भएको व्यवस्थाअनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको थियो। मनोनीत सदस्यहरूलाई बिहीबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार निर्धारित समयमै शपथ ग्रहण कार्यक्रम सञ्चालन हुनेछ।
मनोनीत केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), हरि रिजाल (प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (इलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौं), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरुङ (मनाङ), प्रेम दङ्गाल (काठमाडौं), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाडौं), पुष्पराज श्रेष्ठ (सिन्धुली) र विमला घिमिरे (कपिलवस्तु) रहेका छन्।
त्यस्तै, शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
अन्य राजनीतिक दलबाट एमालेमा समायोजन भएका नेताहरूलाई पनि केन्द्रीय कमिटीमा समेटिएको छ। यस समूहमा मोहम्मद इस्तियाक राई (बाँके), प्रदीप यादव (पर्सा), अब्दुल हुसैन अंसारी (सुनसरी), डिबी कार्की (स्याङ्जा), भवानी खापुङ (तेह्रथुम), दीपक साउद (अछाम), जय गोले तामाङ (काठमाडौं), धर्मराज निरौला (सुनसरी), रवि चामलिङ (खोटाङ), विनोद पहाडी (रुपन्देही), श्रीप्रसाद शर्मा (बागलुङ), रामप्रीत राम (सिराहा) र ध्रुव विष्ट (भक्तपुर) रहेका छन्।
यसैगरी, सोही केन्द्रीय कमिटी बैठकले सात जना नेतालाई स्थायी कमिटी सदस्यका रूपमा चयन गरेको थियो। स्थायी कमिटीमा चयन हुनेमा ईश्वर पोखरेल (काठमाडौं), प्रदीप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) रहेका छन्।
शपथ ग्रहणसँगै मनोनीत सदस्यहरूले औपचारिक रूपमा एमालेको केन्द्रीय कमिटीको जिम्मेवारी सम्हाल्नेछन्।
