महोत्तरी । अत्यधिक गर्मी र त्यसपछि परेको लगातार वर्षाका कारण महोत्तरीमा सर्पदंशका घटना बढ्न थालेका छन्। बर्दिवास–३ गौरीडाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा मात्रै पछिल्लो समय सर्पले टोकेका ६० जना उपचारका लागि पुगेका छन्।
असोज सुरु भएयता केही दिन अत्यधिक गर्मी हुनु, त्यसपछि लगातार चार दिन पानी पर्नु र पुनः चर्को घाम लाग्नुले सर्पको गतिविधि बढेको उपचारमा संलग्न स्वास्थ्य प्राविधिकहरूले बताएका छन्।
गर्मीको समयमा सर्पहरू चिसो स्थानको खोजीमा बाहिर निस्कने तथा वर्षाका बेला पानीका कारण दुलो तथा बासस्थानमा असर परेपछि बाहिर आउने भएकाले यस्तो समयमा सर्पदंशका घटना बढ्ने गरेको नेपाली सेनाका स्वास्थ्य प्राविधिकहरूको भनाइ छ।
उपचार केन्द्रमा खटिएका नेपाली सेनाका स्वास्थ्य प्राविधिक टोलीका इन्चार्ज किङ्काङ चौधरीले असोज लागेसँगै सर्पदंशका बिरामीको संख्या बढेको बताए। उनका अनुसार पछिल्ला दिनमा मौसममा आएको तीव्र परिवर्तनले सर्प बाहिर निस्कने क्रम बढेको हो।
बिरामीको चाप बढेपछि उपचार केन्द्रका अधिकांश शय्या भरिएका छन्। हाल केन्द्रको उपचार सेवा नेपाली सेनाका चार जना स्वास्थ्य प्राविधिकले सञ्चालन गरिरहेका छन्।
स्थानीयस्तरबाट लामो समयदेखि दक्ष चिकित्सकको व्यवस्था गर्न माग हुँदै आए पनि अहिलेसम्म त्यसको स्थायी समाधान हुन सकेको छैन। उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाका अनुसार चिकित्सक उपलब्ध गराउन सम्बन्धित निकायबाट पर्याप्त सहयोग नपाएपछि प्राविधिककै भरमा सेवा सञ्चालन गर्नुपरेको छ।
केन्द्रले समय–समयमा एन्टिस्नेक भेनमको अभावसमेत झेल्दै आएको छ। विसं २०७१ साउन ३१ गते औपचारिक रूपमा सञ्चालनमा आएको केन्द्रले केही समयअघि औषधि अभावकै कारण उपचार सेवा रोक्नुपरेको सूचना सार्वजनिक गरेको थियो।
देवकोटाका अनुसार गत भदौको अन्तिम दिन एन्टिस्नेक भेनमको भाइल खोज्दा समेत उपलब्ध हुन नसकेपछि सेवा बन्द भएको सूचना टाँस गर्नुपरेको थियो। त्यसपछि घटनाबारे समाचार सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण भएको र आवश्यक औषधि उपलब्ध भएपछि तेस्रो दिनदेखि उपचार सेवा पुनः सञ्चालन गरिएको थियो।
केन्द्रमा सूचना टाँस गरिएपछि असोज २ गते स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अमृत पोखरेलको नेतृत्वमा टोलीले स्थलगत अनुगमन गरेको थियो। टोलीले औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएपछि सोही दिन उपचार सेवा सञ्चालन गरिएको केन्द्रले जनाएको छ।
तर, केन्द्रमा दक्ष चिकित्सक तथा भेन्टिलेटरसहित आवश्यक अत्याधुनिक उपचार सुविधा उपलब्ध छैन। त्यसैले गम्भीर अवस्थाका बिरामीलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर वा अन्य सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गर्ने गरिएको छ।
सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका सचिव ध्रुव विष्टले जटिल अवस्थाका बिरामीलाई आवश्यक उपचार सुविधा अभावका कारण केन्द्रमै राखिरहन जोखिम हुने बताए। उनका अनुसार बर्दिवास नगरपालिका र नगर कार्यपालिकाको स्वास्थ्य शाखाले चिकित्सक व्यवस्थापनका लागि तत्काल पहल गर्न आवश्यक छ।
विष्टले बर्दिवास नगर अस्पतालमा कार्यरत चिकित्सकमध्ये कम्तीमा एक जनालाई उपचार केन्द्रमा खटाएर तत्कालको आवश्यकता पूरा गर्न सकिने सुझाव दिएका छन्।
केन्द्रमा दक्ष चिकित्सक आवश्यक रहेको विषयमा बर्दिवास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री पनि जानकार रहेको बताएका छन्। उनले उपचार केन्द्र सञ्चालक समितिसँग समन्वय गरेर चिकित्सक व्यवस्थापनको पहल चाँडै गरिने जानकारी दिए।
उपचारमा नेपाली सेनाका स्वास्थ्य प्राविधिक परिचालन गर्दै आएको परिकौलीस्थित श्री गोरखनाथ गणले पनि दक्ष चिकित्सकको अभावका कारण गम्भीर प्रकृतिका बिरामीको उपचारमा चुनौती रहेको जनाएको छ।
यस क्षेत्रमा विषालु सर्पको जोखिम उच्च रहेकाले विगतमा सर्पदंशका कारण मानवीय क्षति बढेपछि स्थानीय समुदायको पहलमा गौरीडाँडामा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको थियो।
केन्द्रको अभिलेखअनुसार सञ्चालनमा आएदेखि हालसम्म ३३ हजारभन्दा बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ। महोत्तरीसँगै धनुषा, सर्लाही, सिन्धुली, उदयपुर, ओखलढुङ्गा र रामेछापबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गरेका छन्।
बिरामीको चाप र सेवा क्षेत्र विस्तार हुँदै गएसँगै केन्द्रमा कम्तीमा थप एक जना दक्ष चिकित्सकको व्यवस्था गर्नुपर्ने माग पनि बढ्दै गएको छ।
