काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
प्रसाईको तर्फबाट दायर गरिएको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको छ।
प्रसाईको हकमा उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी काठमाडौंलगायतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी हुन्।
रास्वपा सांसद रचना खड्कालाई लक्षित गर्दै प्रसाईले दिएको अभिव्यक्तिपछि उनीविरुद्ध उजुरी परेको थियो। उक्त अभिव्यक्तिलाई लिएर खड्काले संसद्मा समेत विषय उठाएकी थिइन्।
खड्काको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। त्यसपछि उनको गिरफ्तारी कानुनसम्मत नभएको दाबी गर्दै उमा प्रसाईले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी हुन्।
अब सर्वोच्च अदालतको एकल इजलासले उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै निवेदनमा उठाइएका कानुनी विषयबारे आवश्यक आदेश दिनेछ।
प्रसाईले यसअघि जेनजी आन्दोलनकी सहिदकी आमासमेत रहेकी सांसद रचना खड्कालाई लक्षित गर्दै विवादित अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोमा उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
