काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढीपहिरोका कारण क्षतिग्रस्त विद्युत् प्रसारण तथा सडक पूर्वाधारको पुनर्स्थापना कार्यलाई तत्काल तीव्रता दिन सरकारसँग आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले विशेषगरी त्रिशूली र कालीगण्डकी करिडोरअन्तर्गतका विद्युत् प्रसारण संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
उनका अनुसार बाढीपहिरोबाट प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादनदेखि प्रसारण र वितरणसम्मको प्रणालीमा दबाब बढाएको छ। आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने भएकाले अहिले नै सम्भावित जोखिम कम गर्ने काम सुरु गर्नुपर्ने उनको भनाइ छ।
घिसिङले क्षतिग्रस्त प्रसारण संरचनामध्ये तत्काल पुनर्निर्माण गर्न सकिने संरचनाको पहिचान गरी आवश्यक निर्माण कार्य अघि बढाउनुपर्ने बताएका छन्।
उनले विद्युत् क्षेत्रमा लगानी गरेका स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्न सरकारबाट स्पष्ट कार्ययोजना ल्याउनुका साथै आवश्यक सहजीकरण तत्काल गर्नुपर्नेमा पनि जोड दिएका छन्।
घिसिङले ‘लोडसेडिङ हुँदैन’ भन्ने घोषणा मात्र गरेर विद्युत् आपूर्ति सुनिश्चित नहुने धारणा राखेका छन्। विद्युत् कटौती रोक्न वैकल्पिक प्रसारण व्यवस्था, आपूर्ति व्यवस्थापन र आवश्यक पूर्वतयारीका काम अहिलेबाटै अघि बढाउनुपर्ने उनको भनाइ छ।
उनका अनुसार अहिलेको अवस्था केवल विद्युत् क्षेत्रसँग मात्र सम्बन्धित विषय नभई नागरिकको दैनिक जीवन, राष्ट्रिय ऊर्जा सुरक्षा र नेपालको समग्र विकाससँग जोडिएको विषय हो।
घिसिङले संकटका बेला सामान्य विषयमा अल्झिनुभन्दा ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन्। साथै, बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था र क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापनालाई समेत सरकारले तत्काल प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन्।
