काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६० जना रहेका छन्। त्यस्तै, सिसिटिभी निगरानीबाट पहिचान भएका ५३ जना, ट्राफिक संकेत बत्तीको नियम उल्लङ्घन गर्ने २८ जना र निर्धारित सीमाभन्दा बढी गतिमा सवारी चलाउने ९३ जना कारबाहीमा परेका छन्।
यसैगरी निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना, लेन अनुशासन मिच्ने पाँच जना, सवारीसाधनको अवस्था ठीक नभएका १२ जना र एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने पाँच जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
अन्य विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जना चालकलाई समेत जरिवानासहित कारबाही गरिएको कार्यालयले जानकारी दिएको छ।
ट्राफिक प्रहरीले उपत्यकाका सडकमा अनुशासन कायम राख्न नियमित चेकजाँच र निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।
प्रहरीले चालकहरूलाई सवारी चलाउँदा ट्राफिक नियमको पूर्ण पालना गर्न र सडकमा सुरक्षित व्यवहार अपनाउन आग्रह गरेको छ। ट्राफिक नियमको पालनाले चालकको सुरक्षासँगै पैदलयात्री तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले नियम उल्लङ्घन नगर्न सबैलाई अनुरोध गरिएको छ।
