प्राकृतिक स्रोतको अव्यवस्थित व्यवस्थापनले तराई–मधेसमा बाढीको जोखिम बढेको सांसद मनिष झाको भनाइ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्राकृतिक स्रोतको अव्यवस्थित व्यवस्थापनका कारण तराई–मधेसमा बाढी तथा पहिरोको जोखिम बढ्दै गएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा उहाँले नदीमा बग्ने बालुवा तथा जंगलबाट आउने काठको समयमै व्यवस्थापन हुन नसक्दा प्राकृतिक स्रोत नै विपत्तिको कारण बन्न पुगेको बताउनुभयो । प्रकृतिको उचित सदुपयोग हुन नसक्दा प्राकृतिक स्रोत वरदानको सट्टा अभिशाप बन्दै गएको उहाँको भनाइ थियो ।
सांसद झाले विशेषगरी बाढीका बेला नदीमा ठूलो परिमाणमा आउने बालुवा र काठ तराईतर्फ बग्दा स्थानीय बस्ती तथा खेतीयोग्य जमिनमा क्षति पुग्ने गरेको उल्लेख गर्नुभयो । स्वदेशी प्राकृतिक स्रोतको उचित व्यवस्थापन र उपयोग गर्न नसक्नु नीतिगत कमजोरी भएको उहाँले बताउनुभयो ।
उहाँले नदीमा पानीभन्दा बढी काठ बग्ने र बालुवा थुप्रिएर नदीको सतह बढ्ने अवस्था देखिएको भन्दै प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । नेपालमा पर्याप्त काठ उपलब्ध हुँदाहुँदै पनि विभिन्न देशबाट काठ आयात भइरहेको विषयसमेत उहाँले उठाउनुभयो ।
सांसद झाले नदीजन्य पदार्थ तथा वनजन्य स्रोतको वैज्ञानिक व्यवस्थापनका लागि तत्काल योजना बनाएर कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गर्नुभयो । प्राकृतिक स्रोतको व्यवस्थित परिचालन गर्न सके विपत्तिको जोखिम न्यूनीकरणसँगै मुलुकले आर्थिक लाभसमेत लिन सक्ने उहाँको भनाइ छ ।
