सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेको ठगी, ह्यारेसमेन्ट र भ्रामक सूचना सम्प्रेषणको समस्यालाई सम्बोधन गर्न सरकारले विशेष कानूनी ढाँचा निर्माण गरिरहेको बताउनुभएको छ ।
संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमा हुने बुलिङ र चरित्र हत्याका घटनाहरू मन्त्रालयको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा बोल्दै उहाँले सरकारले तर्जुमा गरिरहेको आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमा गलत तथा भ्रामक सूचना प्रवाह गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने प्रावधानहरू समेटिएको बताउनुभयो । उहाँले आगामी दिनमा यी विधेयकहरू संसदमा पेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो अत्यन्तै संवेदनशील विषय हो, तसर्थ सरोकारवालाहरूसँगको व्यापक छलफलपछि मात्र यसको दुरुपयोग रोक्न सकिने बलियो कानूनी आधार तयार गरिरहेका छौं । पत्रकारितालाई नियन्त्रण गर्ने नभई थप मर्यादित र जिम्मेवार बनाउन हामीले कानुन आवश्यक ठानेका छौं ।’
आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रममार्फत सामाजिक सञ्जालमा हुने सामग्रीको तथ्य जाँच (फ्याक्ट चेक) गर्ने कार्य अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । नियतवश गलत र प्रमाणविहीन समाचार फैलाउने सञ्चारगृह तथा व्यक्तिहरूलाई जवाफदेही बनाउनुपर्ने सांसदहरूको मागप्रति सरकार सहमत रहेको मन्त्रीको भनाइ छ । यसका लागि गृह मन्त्रालय र साइबर ब्युरोसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।
