नेकपा (एमाले) की सचिव पद्या अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
बुधवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न र महँगी नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका हुन्। सचिव अर्यालले राजनीतिक आन्दोलन र जेलनेलको विगत स्मरण गर्दै आफूहरू कुनै पनि दबाब वा असुरक्षाको डरबाट विचलित नहुने बताएका छन्। सरकारप्रति आक्रोश पोख्दै अर्यालले ठूला सपना बाँड्नुभन्दा पनि जनतालाई राहत दिने काममा केन्द्रित हुन आग्रह गरेका छन्।
उहाँले भन्नुभयो, ‘हामी हिजो परिवर्तनको आन्दोलनका क्रममा जेल बसेर आएका मान्छे हौँ। साँचो बोल्दा जेल परिन्छ वा असुरक्षित भइन्छ भन्ने डरले हामी आफ्नो कर्तव्यबाट पछि हट्दैनौँ। हामीले सरकारसँग ठूला उत्पात काम खोजेका छैनौँ। जनतालाई ठग्न भएन, राष्ट्रलाई कमजोर हुन दिन भएन। कम्तीमा जनतालाई ग्याँस उपलब्ध गराउनुस् र महँगी नियन्त्रण गर्नुहोस्। यति सामान्य काम पनि सरकारले गर्न सकेको छैन।’
आफ्नो अभिव्यक्तिमार्फत उहाँले सरकारको प्रशासनिक तथा व्यवस्थापकीय दक्षतामाथि प्रश्न उठाउँदै सरकारले जुन ढंगले क्षमता प्रदर्शन गर्नुपर्ने हो, त्यसमा पूर्ण रूपमा चुकेको टिप्पणी गरेका छन्। जनताको दैनिक जीविकासँग प्रत्यक्ष जोडिएका विषयमा सरकार उदासीन बनेको भन्दै उनले नेतृत्वको आलोचना गरेका छन्।
