२७ असोज, धनगढी । चांगानको नयाँ विद्युतीय एसयूभी निभो क्यू०५ धनगढीमा सार्वजनिक गरिएको छ। एमएडब्लू वृद्धि अटोकर्प प्रालिअन्तर्गत धनगढी क्षेत्रको आधिकारिक बिक्रेता ग्लोबल प्रालिले उक्त गाडी बजारमा ल्याएको हो।
कैलालीको धनगढीस्थित राजपुरमा रहेको दिपल शोरुममा असोज २६ देखि २९ गतेसम्म आयोजना गरिएको विशेष कार्यक्रममा ग्राहकले निभो क्यू०५ को टेस्ट ड्राइभ गर्न सक्नेछन्।
सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्पराज कुँवरको प्रमुख आतिथ्यमा गाडी सार्वजनिक गरिएको हो। कार्यक्रममा एमएडब्लू वृद्धिका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि अटोकर्पका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्द, ग्लोबलका अध्यक्ष हितेश ओझा र प्रबन्ध निर्देशक कृष्णदेव उप्रेती सहभागी थिए।
निभो क्यू०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीका अनुसार यो कम्प्याक्ट विद्युतीय एसयूभी आरामदायी यात्रा, आकर्षक डिजाइन र आधुनिक प्रविधिलाई ध्यानमा राखेर विकास गरिएको हो।
फराकिलो क्याबिन र आरामदायी यात्रा
निभो क्यू०५ को बाहिरी बनावट कम्प्याक्ट भए पनि भित्री भाग फराकिलो रहेको कम्पनीले जनाएको छ। गाडीको ह्विलबेस २ हजार ७३५ मिलिमिटर छ भने क्याबिन स्पेस उपयोग दर ८६.६ प्रतिशत रहेको छ। पछाडिको सिटमा तीन जना वयस्क यात्रु बस्न सक्ने व्यवस्था छ।
पछाडिको सिटको ढाड अड्याउने भागलाई २८ र ३३ डिग्रीका दुई कोणमा मिलाउन सकिन्छ। कम्पनीका अनुसार आरामदायी यात्रालाई ध्यानमा राखेर सिटमा नौ तहको एर्गोनोमिक संरचना तयार गरिएको छ।
गाडीमा दुई तहमा विभाजित ५४० लिटर क्षमताको सामान राख्ने ठाउँ र ९० लिटरको अतिरिक्त भण्डारण कक्ष छ। साथै, विभिन्न सामान राख्न मिल्ने २९ वटासम्मका स्थान उपलब्ध छन्।
यात्राका क्रममा आवाज र कम्पन कम गर्न गाडीमा ६७ भन्दा बढी ध्वनि निरोधक तथा आवाज न्यूनीकरण बिन्दु राखिएका छन्। केही भेरियन्टमा विद्युतीय सनसेडसहित १.८ वर्गमिटर क्षेत्रफलको प्यानोरामिक ग्लास रुफ पनि उपलब्ध छ।
आकर्षक डिजाइन र वायुगतिकीय बनावट
कम्पनीका अनुसार निभो क्यू०५ को डिजाइन चांगानका विश्वव्यापी डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जाइसिओराको नेतृत्वमा विकास गरिएको हो। यसको डिजाइन प्रक्रियामा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञ सहभागी भएको कम्पनीको भनाइ छ।
‘फुग्वाङ’ डिजाइन दर्शनबाट प्रेरित यस एसयूभीमा सन्तुलित बनावट र आकर्षक बाहिरी स्वरूप दिइएको छ। यसको वायुगतिकीय प्रतिरोध गुणांक ०.२६५ रहेको छ।
सन् २०२६ को गोल्डेन ए डिजाइन अवार्ड प्राप्त गरेको यस गाडीमा डिजिटल विङ २.० पूर्ण चौडाइको प्रकाश प्रणाली, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट र अर्धलुकेका प्रिमियम ढोकाका ह्यान्डल राखिएका छन्।
१५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने दाबी
निभो क्यू०५ मा चांगानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत क्याटल ब्याट्री सेल प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसको फास्ट चार्जिङ प्रणालीले उपयुक्त अवस्थामा करिब १५ मिनेटमै ब्याट्रीको चार्ज ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउन सक्छ।
गाडीमा १२० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन ८.१ सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ।
डब्ल्यूएलटीपीसी परीक्षणअनुसार निभो क्यू०५ ले एकपटक पूर्ण चार्ज गर्दा ४०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको कम्पनीको विवरणमा उल्लेख छ।
आधुनिक प्रविधि र सुरक्षा सुविधा
निभो क्यू०५ मा १४.६ इन्चको १०८० पी टचस्क्रिन उपलब्ध छ। यसमा सात न्यानोमिटर प्रविधिमा आधारित एमटीके ८६७५ प्रोसेसरसँगै वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा समावेश गरिएको छ।
कम्पनीका अनुसार भेरियन्टअनुसार गाडीमा १८ वटासम्म उन्नत चालक सहायता प्रणाली (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम–एडीएएस) का सुविधा उपलब्ध छन्। यसका अतिरिक्त ५४० डिग्री प्यानोरामिक दृश्य प्रणाली पनि समावेश गरिएको छ।
