प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरण आवश्यक रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नयाँ पुस्ताले नेतृत्व लिएर माओवादी आन्दोलनको पुनर्गठन गर्न आवश्यक रहेको बताएका हुन्। उनले विगतको जनयुद्धको नेतृत्व गरेको पुस्ताले माओवादी आन्दोलनलाई अब अगाडि बढाउन नसक्ने बताए। माओवादी आन्दोलनका बाँकी एजेन्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाइ छ।
उनले माओवादी आन्दोलनले संविधानमा समावेश गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गरे। उनले समानुपातिक प्रतिनिधित्व र समानताको अधिकार कार्यान्वयनमा देखिएका विकृतिप्रति चिन्ता पनि व्यक्त गरे। माओवादी आन्दोलनले समयअनुसार विचार विकास गर्दै नयाँ चुनौतीको सामना गर्न नसक्दा प्रतिक्रान्तिको अवस्था सिर्जना भएको उनको भनाइ छ।
बन्दुकको लडाइँ मात्र क्रान्ति नभएको उल्लेख गर्दै उनले संविधानसभा, शान्ति प्रक्रिया र जनताका समस्या समाधान गर्ने संघर्ष पनि क्रान्तिकै निरन्तरता रहेको उल्लेख गरे। हाल माओवादी आन्दोलनले जनताका समस्या समाधान गर्ने दिशामा आफूलाई अघि बढाउन नसकेको उनको भनाइ छ।
उनले अहिले संविधान, लोकतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षणका विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए। पछिल्लो राजनीतिक परिस्थितिले प्राप्त उपलब्धि नै संकटमा पर्न सक्ने खतरा उत्पन्न भएको उनको भनाइ छ। प्राप्त उपलब्धिको रक्षाका लागि नयाँ ढंगले राजनीतिक पहल आवश्यक रहेको उनले बताए।
उनले भने, ‘जनयुद्धसम्म एउटा बन्दुक लडियो, त्यसपछि संविधानसभामा लडियो, त्यसपछि शान्ति प्रक्रियामा जनताका समस्याहरूको समाधान गर्ने कुराको लडाइँ नै क्रान्ति हुन्थ्यो। त्यतातिर माओवादी आन्दोलनले त्यो दिशा लिन नसक्नु मुख्य समस्या भएको कारणले प्रतिक्रान्ति भयो यो देशमा। अब यो संविधान पनि के हुन्छ, लोकतन्त्र रहन्छ कि रहँदैन? हाम्रो राष्ट्रियता यतिबेला कति सङ्गीन घडीमा छ, राष्ट्रियता कति खतरामा छ भन्ने कुरा तपाईं हामी सबैले अनुभूत गरेका छौँ। यसको रक्षा हामी गर्न सक्छौँ कि सक्दैनौँ? संविधान नरहँदा, यो लोकतन्त्र नरहँदा, यो समावेशिता आदि त्यस्ता कुरा त अर्कै कुरा भइहाल्यो। कहाँ पुग्ला? सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। हाम्रा उपलब्धिहरू आज समाप्त हुँदै गर्दा अब फेरि एकपटक नयाँ सिराबाट, नयाँ ढंगले, नयाँ पुस्ताले, जो राजनीतिक सुझबुझ भएको पुस्ता होस्, नयाँ पुस्ताले माओवादी आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ। यसको पुनर्जागरण गर्नुपर्छ। माओवादी आन्दोलनका एजेन्डा अहिले पनि बाँकी छन्। त्यो आवश्यकता अहिले पनि छ। त्यसलाई पुनर्गठित गर्नुपर्छ। त्यसमा मैले आफ्नो तर्फबाट सहयोग र योगदान गर्न तयार छु, तर मेरो सर्त के छ भने नयाँ पुस्ताले आएर यसको नेतृत्व गर्नुपर्छ। यहाँनिर पुस्ताको कुरा आउँदा एउटा कुरा आउँछ, को कति वर्षको भन्दा सक्षम र असक्षमको कुरा हो, पुस्ताको कुरा गरेको होइन मैले। अब हिजो जनयुद्ध लडेर त्यसको नेतृत्व गरेको जो टिम थियो, त्यो असक्षम भइसक्यो। हामीभन्दा पछिल्लो पुस्ता जो छ, तपाईंहरूले पुनर्गठन गर्नुपर्यो।’
माओवादी आन्दोलनका एजेन्डा अझै सान्दर्भिक रहेको दाबी गर्दै उनले नयाँ पुस्ताले आन्दोलनको पुनर्गठन र पुनर्जागरण गर्न अघि बढेमा सहयोग गर्न तयार रहेको बताए। उनले पुस्तान्तरणलाई उमेरसँग मात्र जोड्न नहुने स्पष्ट पार्दै नेतृत्वको क्षमता र योग्यतालाई मुख्य आधार बनाउनुपर्ने बताए। राजनीतिक सुझबुझ भएको नयाँ पुस्ताले आन्दोलनको नेतृत्व लिएर बाँकी रहेका राजनीतिक एजेन्डालाई अघि बढाउनुपर्ने उनको भनाइ छ।
