२८ असोज, काभ्रे । बडादशैँका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर १० दिनसम्म टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले असोज ३१ गतेदेखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर चलाउन रोक लगाएको हो।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकले गरेको निर्णयअनुसार उक्त प्रतिबन्ध लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए।
उनका अनुसार दसैँका बेला बीपी राजमार्ग, अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न यो निर्णय गरिएको हो। साथै, यात्रुवाहक सवारीसाधनको आवागमनलाई सहज र सुरक्षित बनाउने उद्देश्यले टिपर सञ्चालनमा रोक लगाइएको उनले बताए।
प्रशासनले तोकिएको अवधिमा जिल्लाभित्र टिपर सञ्चालन नगर्न तथा नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
