२८ असोज, काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको संसदीय सुनुवाइ बुधबार सम्पन्न भएको छ। सुनुवाइका क्रममा सांसदहरूले सुरुमा झाको प्रस्तुति सुनेका थिए। त्यसपछि उनीहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः सक्रिय बनाउने योजनाबारे प्रश्न उठाएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले सार्कलाई पुनर्जीवित गर्ने र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई नेपालको हितमा उपयोग गर्ने ठोस योजना के छ भन्ने प्रश्न गरेका थिए।
यसअघि भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले पनि संसदीय सुनुवाइका क्रममा यस्तै प्रश्नको सामना गरेका थिए।
भारत र पाकिस्तानबीचको राजनीतिक असमझदारी तथा तनावका कारण सार्क करिब एक दशकदेखि निष्क्रिय अवस्थामा छ। दुई देशबीचको तिक्तता र सीमा सुरक्षासम्बन्धी विवादले गर्दा संगठनका शिखर सम्मेलन तथा उच्चस्तरीय बैठकहरू नियमित रूपमा हुन सकेका छैनन्।
सन् २०१६ मा पाकिस्तानमा आयोजना गर्ने तय भएको सार्कको १९औँ शिखर सम्मेलन भारतसहितका देशहरूले बहिष्कार गरेपछि अहिलेसम्म अर्को शिखर सम्मेलन हुन सकेको छैन।
सार्कको निष्क्रियतासँगै नेपाललगायत सदस्य राष्ट्रहरूले क्षेत्रीय सहकार्यका लागि बिमस्टेकजस्ता वैकल्पिक मञ्चमा ध्यान केन्द्रित गर्दै आएका छन्। सार्क कमजोर बन्दै जाँदा चीनलगायतका देशहरूले पनि दक्षिण एसियाली क्षेत्रमा विकास र सहकार्यका लागि छुट्टै संयन्त्रहरू अघि बढाएका छन्।
नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र रहे पनि संगठनलाई पुनः सक्रिय बनाउने उद्देश्यले गरिएका कूटनीतिक प्रयासले अहिलेसम्म ठोस परिणाम दिन सकेका छैनन्। भारत र श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइका क्रममा सार्कको भविष्य र क्षेत्रीय सहकार्यको विषय पुनः चर्चामा आएको हो।
