२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूले महिला हिंसा नगरेको दाबी गरेका छन्। संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध परेको उजुरीबारे सांसदहरूले प्रश्न उठाएपछि सुनारले आफ्नो धारणा राखेका हुन्।
सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले घरेलु हिंसासम्बन्धी विवादका कारण ललितपुर प्रहरी कार्यालय पुगेर मिलापत्र गरेको हो कि होइन भन्ने प्रश्न गरेका थिए।
जवाफमा सुनारले आफू महिला हिंसाविरुद्ध आवाज उठाउँदै आएको व्यक्ति भएको बताए। महिलाको सहमतिलाई सम्मान गर्नुपर्ने मान्यता राख्ने र यस विषयमा लेखसमेत लेखेको उनको भनाइ थियो। सार्वजनिक शौचालय निर्माण गर्दा लैङ्गिक पक्षलाई ध्यान दिनुपर्ने विषयमा पनि आफूले लेखेको उनले उल्लेख गरे। दलित समुदायका विषयमा समेत लेख्दै आएको उनले बताए।
सुनारले उक्त घटना करिब १३ वर्षअघिको भएको दाबी गर्दै त्यसबेला आपसी सहमतिमा विषय टुंगिएको बताएका छन्। उनीहरूबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धित महिला विदेश गएको उनले सुनुवाइका क्रममा उल्लेख गरे। उनीहरूबीच आर्थिक रकम नभई अन्य विषयमा लेनदेनसम्बन्धी कुरा रहेको पनि उनले बताए।
आफूमाथि कुनै फौजदारी मुद्दा नचलेको र हालसम्म पक्राउ पुर्जीसमेत जारी नभएको सुनारको दाबी छ। फोनमा भनाभन भएको विषयलाई महिला हिंसाका रूपमा व्याख्या गरिए त्यसमा आफ्नो थप भनाइ नरहेको उनले बताए।
