काठमाडौं, २८ असोज । कपिलवस्तुमा एक व्यवसायीले आफूलाई अन्याय भएको भन्दै आत्मदाहको प्रयास गरेका छन्।
कृष्णनगर नगरपालिका–२, बैंकरोडमा अनुगमनका क्रममा व्यवसायी महेश अग्रहरीले आत्मदाहको प्रयास गरेका हुन्।
लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले चामल बोकेको उनको पिकअपमा आवश्यक कागजपत्र नभेटिएपछि कारबाहीका लागि भन्सार बुझाएको थियो। त्यसपछि गल्ला पसल सञ्चालक अग्रहरीले मट्टीतेल छर्केर आगो लगाउने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
शरीरभरि मट्टीतेल छर्केर आगो लगाउन खोज्दा प्रहरीले तत्काल उनलाई जोगाएको थियो। त्यसक्रममा बेहोस भएका अग्रहरीलाई उपचारका लागि तौलिहवा अस्पताल हुँदै रुपन्देहीको भैरहवास्थित मेडिकल कलेज लगिएको छ।
अग्रहरीले आफूले ल्याएको ६० बोरा चामलको बिलबिजक हुँदाहुँदै पनि प्रहरीले चामल नियन्त्रणमा लिएको दाबी गरेका छन्।
