२८ असोज, सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुरुङ्गा नगरपालिकाका सभापति साविर हुसेन लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले हुसेनलाई सुरुङ्गा नगरपालिका–४ स्थित कदमाहा बजारमा रहेको पार्टी कार्यालयबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले लागूऔषध मुद्दामा फरार रहेका हुसेन पक्राउ परेको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार, २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि एउटा कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट राजमार्ग पार गर्दै गरेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो। दुर्घटनापछि कारको खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त घटनापछि प्रहरीले कार, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो। तर, कार चालक भने फरार भएका थिए।
सोही घटनासँग सम्बन्धित लागूऔषध मुद्दामा हुसेन पक्राउ परेको प्रहरीले जनाएको छ।
