काठमाडौं, २८ असोज । यस वर्षको मनसुन १२ दिन ढिला गरी नेपालबाट बाहिरिएको छ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको छ।
महाशाखाले असोज १७ गते सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागका केही स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको जानकारी गराएको थियो।
सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि सुरु भई २ अक्टोबरमा बाहिरिने गर्छ। तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिन ढिला गरी बाहिरिएको हो।
यस वर्षको मनसुन अवधिमा औसत आसपास वर्षा भएको महाशाखाले जनाएको छ। मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
