२९ असोज, कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टबाट नेपाल फर्काइएको छ।
हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय अधिकारीहरूले उनीहरूलाई रोकेर नेपाल फिर्ता पठाएका हुन्।
भारतबाट फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान अघि बढाएको छ।
बालबालिकालाई तिब्बती भाषा अध्ययन गराउने भन्दै देहरादुन लैजान खोजिएको भए पनि त्यहाँको कुन शैक्षिक संस्थामा भर्ना गराउने योजना थियो भन्ने खुल्न सकेको छैन। उनीहरूलाई भारत लैजान अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषयसमेत स्पष्ट भइसकेको छैन।
घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
