२९ असोज, विराटनगर। आफन्तलाई भेट्न मोरङ जिल्ला कारागार पुगेका दुई दिदीबहिनी लागुऔषधसहित पक्राउ परेका छन्। कारागारको प्रवेशद्वारमा गरिएको सुरक्षा जाँचका क्रममा उनीहरूले लगाएको प्याडभित्र लुकाएर राखेको लागुऔषध फेला परेपछि सशस्त्र प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्। सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारीका अनुसार उनीहरू दिदीबहिनी हुन्।
बिहीबार दिउँसो विराटनगर महानगरपालिका–८, हाटखोलास्थित मोरङ जिल्ला कारागारको मुख्य प्रवेशद्वारमा खटिएको सुरक्षा टोलीले नियमित जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको एसपी भण्डारीले जानकारी दिए। शंकास्पद देखिएपछि थप जाँच गर्दा भित्री वस्त्रमा प्रयोग गरिएको प्याडभित्र लुकाइएको लागुऔषध भेटिएको उनले बताए।
प्रहरीका अनुसार उनीहरूको साथबाट हरियो रङका २४० थान क्याप्सुल र सुन्तला रङका २४० थान ट्याब्लेट गरी कुल ४८० थान लागुऔषध बरामद गरिएको छ।
पक्राउ परेका दिदीबहिनी कारागारभित्र रहेका कुन आफन्तलाई भेट्न गएका थिए भन्नेबारे प्रहरीले खुलाएको छैन।
