काठमाडौं। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागमा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतः सफा रहेको छ।
महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भूभागको मौसम मुख्यतः सफा रहनेछ।
आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतः सफा रहनेछ।
मङ्गलबार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मङ्गलबार राति भने देशभर आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
बुधबार देशभर सामान्यतया बदली रहनेछ। यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बिहीबार भने मौसम थप बदली हुने देखिएको छ। देशभर सामान्यतया बादल लाग्ने र कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
