झापा। धान पाक्ने समय नजिकिँदै जाँदा झापाका किसानलाई जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। हात्तीको आवतजावत हुने क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सुरक्षा निगरानी बढाएको छ।
चाडपर्वका बेला मानिसको चहलपहल बढ्ने र बिहान, साँझ तथा रातिको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुन सक्ने भएकाले प्रभावित बस्तीमा माइकिङमार्फत स्थानीयलाई सचेत गराइएको छ। सशस्त्र प्रहरीले अँध्यारो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र हात्तीको सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार हात्तीबाट हुन सक्ने मानवीय र भौतिक क्षति कम गर्न सुरक्षा सतर्कता तथा जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिइएको छ।
कर्माचार्यले धानबाली जोगाउने क्रममा किसान र स्थानीय बासिन्दाले आफ्नो सुरक्षालाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताए। हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने वा धपाउने प्रयास नगरी सुरक्षित स्थानमा जान उनले आग्रह गरे।
हात्ती प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले मोबाइल तथा पैदल गस्तीमार्फत निगरानी गरिरहेको छ। हात्तीको आवतजावतबारे स्थानीयलाई जानकारी गराउने र सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय तथा स्थानीय बासिन्दासँग समन्वय गर्ने कामसमेत भइरहेको छ।
धान भित्र्याउने समय नजिकिँदा खेतमा जाने, राति बालीको रेखदेख गर्ने तथा हात्ती धपाउने प्रयास गर्दा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले किसानलाई विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। हात्तीको बाटो छेक्ने, नजिकै गएर तस्बिर वा भिडियो खिच्ने तथा समूह बनाएर हात्तीलाई घेराबन्दी गर्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ।
त्यसैगरी, घर, गोठ र आँगन वरपर हात्तीलाई आकर्षित गर्न सक्ने खानेकुरा नराख्न, घर आसपास पर्याप्त उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न सुझाव दिइएको छ। बस्तीमा रहेका बालबालिका, वृद्धवृद्धा तथा जोखिममा पर्न सक्ने अन्य व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन पनि सशस्त्र प्रहरीले आग्रह गरेको छ।
झापाका मेचीनगरस्थित बाहुण्डाँगी, बुद्धशान्तिको माथिल्लो क्षेत्र, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका केही स्थानमा जङ्गली हात्तीको आवतजावत र त्यसबाट हुने क्षतिको समस्या देखिँदै आएको छ। ती क्षेत्रका बासिन्दालाई सतर्क रहन र हात्ती देखिएमा नजिक नजान प्रहरीले पुनः अनुरोध गरेको छ।
