सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिन संसदीय समितिको आह्वान
काठमाडौँ। सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिले उजुरी माग गरेको छ। समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित उम्मेदवार नियुक्तिका लागि अनुपयुक्त लागेमा आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिको असोज २६ गतेको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार समितिले कात्तिक ९ गतेदेखि लागू हुने गरी सूचना प्रकाशित गर्दै १० दिनभित्र उजुरी पेस गर्न समय दिएको हो।
समितिले प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त नभएको ठहर गर्ने आधार, सबुत र प्रमाणसहित शिष्ट तथा मर्यादित भाषामा उजुरी दिन अनुरोध गरेको छ। उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर खुलाउनुपर्ने भए पनि पहिचान गोप्य राख्न चाहेमा त्यसको व्यवस्था गरिने समितिले जनाएको छ।
उजुरी संसदीय सुनुवाइ समितिको सचिवालय, सिंहदरबारमा सिधै वा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गर्न सकिनेछ।
प्राप्त उजुरीमाथि अध्ययन तथा आवश्यक छानबिन गरेपछि समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
#SupremeCourt #JudicialAppointment #ParliamentaryHearing #NepalNews #JusticeSystem #LegalNews #DreamNewsNetwork
