कांग्रेसमा हार्नेहरूलाई पनि क्षमताअनुसार जिम्मेवारी दिइनेछ : गगन थापा
कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने अभियान सञ्चालन गरिने
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका नेता तथा कार्यकर्तालाई समेत क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिने बताएका छन्।
स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीलाई नयाँ सोचका साथ अघि बढाउन सबै नेता तथा कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने बताए। पार्टीको विभिन्न तहमा पद प्राप्त गर्न नसकेका व्यक्तिलाई पनि उपयुक्त जिम्मेवारी दिएर सक्रिय बनाइने उनको भनाइ थियो।
थापाले कांग्रेसलाई चार पुस्ताको साझा पार्टीका रूपमा व्याख्या गर्दै नेतृत्वमा पुग्नु मात्र पार्टीमा योगदान गर्ने आधार नभएको उल्लेख गरे। केन्द्रीय समितिदेखि वडा तहसम्म प्रतिस्पर्धामा सहभागी भएका तर पदमा निर्वाचित हुन नसकेका व्यक्तिको क्षमता पहिचान गरी जिम्मेवारी दिनुपर्ने उनले बताए।
पार्टीभित्र पदका आधारमा नेता तथा कार्यकर्ताबीच ठूलो–सानोको व्यवहार गर्ने र आसन ग्रहणमा समेत विभेद गर्ने परम्परा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए। जिम्मेवारी पाउनु स्थायी पद नभई पार्टी र जनताप्रतिको दायित्व भएको उनको भनाइ थियो।
पार्टीका आगामी अधिवेशन र सांगठनिक संरचनाबारे मात्रै केन्द्रित नभई जनतासँगको सम्बन्ध विस्तारमा लाग्नुपर्ने थापाले बताए। नयाँ नेतृत्वले स्पष्ट योजना र प्रतिबद्धतासहित जनतामाझ पुग्नुपर्ने उनको धारणा थियो।
उनले आगामी मंसिरभित्रै कांग्रेसबाट टाढिएका परिवार र मतदाताको घरदैलोमा पुग्ने अभियान सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। विगतमा कांग्रेसलाई समर्थन गरेका तर अहिले पार्टीबाट टाढिएका नागरिकको असन्तुष्टि बुझेर उनीहरूसँग सम्बन्ध पुनः स्थापित गर्नुपर्ने उनले बताए।
कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्य राखेर नयाँ योजना बनाउनुपर्ने थापाको भनाइ थियो। पार्टीका संस्थापक नेताहरूले स्थापित गरेका मूल्य र मान्यतालाई जोगाउँदै वर्तमान समयका चुनौती र युवा पुस्ताका अपेक्षालाई सम्बोधन गर्न सक्ने कांग्रेस निर्माण गर्नुपर्ने उनले बताए।
आन्तरिक प्रतिस्पर्धा सकिएकाले अब सबै नेता तथा कार्यकर्ता एकजुट भएर संगठन सुदृढीकरण र जनताको विश्वास पुनः हासिल गर्ने अभियानमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
