जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत एसपी खड्काले हंसपुर नगरपालिका–८, भतही टोलका ५६ वर्षीय लक्ष्मेश्वर यादवले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
प्रहरीका अनुसार यादवले गत भदौ १७ गते परिवारकी एक महिला सदस्य हराएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए ।
तर, अनुसन्धानका क्रममा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम भएको र भदौ १४ गते आफ्ना पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले सम्बन्धित महिला र उनका परिवारका सदस्यबीच प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहसम्बन्धी प्रमाण देखाएर घटनाको वास्तविकताबारे जानकारी गराएको दाबी गरेको छ ।
पक्राउ गरेर छुटाइदिन दबाब दिएको प्रहरीको दाबी
विज्ञप्तिअनुसार यादवले महिलाको मञ्जुरीबिना विवाह भएको भन्दै उनलाई र उनका पतिलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन प्रहरीमाथि दबाब दिएका थिए । मागअनुसार काम नगरे हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत दिएको प्रहरीको दाबी छ ।
गैरकानुनी कार्य गर्न अस्वीकार गरेपछि प्रतिशोधस्वरूप आफूविरुद्ध अनर्गल र तथ्यहीन आरोप लगाइएको एसपी खड्काले बताएका छन् ।
उनले प्रहरीको व्यावसायिकता र आफ्नो व्यक्तिगत मर्यादामाथि प्रहार गर्ने उद्देश्यले द्वेषपूर्ण टिप्पणी गरिएको भन्दै त्यसको निन्दा गरेका छन् ।
सामाजिक सञ्जालमा भ्रम नफैलाउन आग्रह
एसपी खड्काले आफूमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै तथ्य र प्रमाणबिना कसैको प्रतिष्ठामा आँच पुर्याउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा समेत सत्यतथ्य नबुझी सामग्री सेयर नगर्न र भ्रममा नपर्न उनले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी विषयमा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।
