थानकोटबाट बरामद चाँदी ६९ किलो, मूल्य २ करोड ३६ लाखभन्दा बढी
काठमाडौं । काठमाडौंको थानकोटबाट प्रहरीले बरामद गरेको अवैध चाँदीको परिमाण ६९ किलो रहेको पुष्टि भएको छ। चाँदी भन्सार छली गरी ल्याइएको आशंकामा भारतीय नागरिक अमन सर्राफलाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चाँदीको तौल गर्दा ६९ किलो पुगेको हो। बरामद चाँदीको बजार मूल्य २ करोड ३६ लाख ३२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बिहारको रक्सौलका बासिन्दा सर्राफले थानकोटमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनले मोटरसाइकलमा विशेष खालको लुकाइएको भाग (फल्स बटम) बनाएर चाँदी ओसारपसार गर्ने गरेको पाइएको छ।
यसअघि उनका बुवा रमेश कुमार साह र आमा चन्दा सोनीलाई मकवानपुर प्रहरीले हेटौँडाबाट १४ किलो चाँदीसहित पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले अमनमाथि अनुसन्धान अघि बढाएको थियो। उनको पसल र डेरामा खानतलासी गर्दा थप चाँदी फेला परेको प्रहरीले जनाएको छ।
बरामद चाँदी र पक्राउ परेका सर्राफलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
