काठमाडौंमा २४ घण्टाभित्र ८७ जना पक्राउ
काठमाडौं । काठमाडौं जिल्लाका विभिन्न स्थानबाट प्रहरीले पछिल्लो २४ घण्टामा ८७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्विप अपरेसन र फरार व्यक्तिको खोजी अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले कात्तिक ९ गते बिहानदेखि १० गते बिहान ६ बजेसम्म सञ्चालन गरेको स्विप अपरेसनबाट ७५ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि जाँच गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने वा रिहा गर्नेबारे निर्णय गरिने प्रहरीले जनाएको छ।
यसैगरी, अदालतबाट कैद तथा जरिवानाको फैसला भएका ८ जना र पक्राउ अनुमति जारी भई अनुसन्धानको प्रक्रियामा रहेका ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार विभिन्न अभियानमार्फत पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ।
