लोकतन्त्रको संरक्षण र पार्टी रूपान्तरणमा युवाको सक्रियता आवश्यकः प्रदीप पौडेल
दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रलाई सुरक्षित राख्न, थप मजबुत बनाउन र संस्थागत विकास गर्न युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा तरुण दल तनहुँले दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले लोकतन्त्र चुनौतीमा परेका विभिन्न समयमा युवाहरूले खेलेको भूमिकाको चर्चा गरे। उनले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणसँगै पार्टीको सङ्गठन बलियो बनाउन तथा रूपान्तरणको प्रक्रियालाई अघि बढाउन तरुणहरूले अग्रसरता लिनुपर्ने बताए।
तरुण दललाई कांग्रेसको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै महामन्त्री पौडेलले लोकतान्त्रिक आन्दोलनमा युवाहरूको योगदान स्मरण गरे। आगामी दिनमा पनि लोकतन्त्रका आदर्श र सिद्धान्तको रक्षा गर्न युवा पुस्ता प्रतिबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो।
कांग्रेसले युवा पुस्तालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले पार्टीमा युवाको प्रतिनिधित्व विस्तार हुँदै गएको बताए। उनका अनुसार अब तरुणहरूको भूमिका सङ्गठन विस्तारमा मात्र सीमित हुनुहुँदैन। नयाँ विचार, रचनात्मक योजना र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रममार्फत पार्टीलाई थप प्रभावकारी बनाउन युवाहरूले योगदान दिनुपर्छ।
पार्टीभित्र भइरहेका सुधार र सकारात्मक परिवर्तनबारे नागरिकलाई जानकारी गराउनुपर्नेमा पनि पौडेलले जोड दिए। पार्टीले अघि सारेका परिवर्तनका प्रयास जनतासम्म पुर्याउन सके कांग्रेसप्रतिको विश्वास बढाउन सहयोग पुग्ने उनले बताए।
कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य चिनु पोख्रेलले पार्टीलाई बलियो बनाउन आन्तरिक एकता आवश्यक रहेको धारणा राखिन्। केन्द्रीय सदस्यहरू जगदीशचन्द्र पोख्रेल र दीपक भट्टराईलगायतले पनि तरुण दलको भूमिका र पार्टी सङ्गठनलाई सुदृढ बनाउने विषयमा विचार व्यक्त गरेका थिए।
