कांग्रेसको नेतृत्व नयाँ पुस्तामा आउनु स्वाभाविक प्रक्रिया हो : प्रदीप पौडेल
तरुण दलका जिल्ला अधिवेशन छ महिनाभित्र र केन्द्रीय अधिवेशन एक वर्षभित्र सम्पन्न गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु स्वाभाविक प्रक्रिया भएको बताएका छन्। उनले पुराना नेताहरूको अनुभव र योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिएका छन्।
नेपाल तरुण दलसम्बन्धी कार्यक्रममा सहभागी हुन तनहुँ पुगेका पौडेलले तरुण दलका जिल्ला अधिवेशन आगामी पाँचदेखि छ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको बताए। त्यस्तै, केन्द्रीय अधिवेशन पनि बढीमा एक वर्षभित्र गरिसक्नुपर्ने उनको भनाइ थियो।
उनले तरुण दलका गतिविधि नियमित रूपमा सञ्चालन हुन नसकेको र युवालाई सङ्गठनमा आबद्ध गराउने काममा अपेक्षित प्रगति हुन नसकेको बताए। सङ्गठनलाई प्रभावकारी बनाउन नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्ने भन्दै उनले नियमित गतिविधि सञ्चालन गर्ने वातावरण निर्माण गर्न आग्रह गरे।
पौडेलले तरुण दललाई नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएको ऐतिहासिक सङ्गठनका रूपमा उल्लेख गरे। यसको सङ्गठनात्मक क्षमता विस्तार गर्दै नेपाली कांग्रेसलाई थप बलियो बनाउन र युवाका मुद्दालाई राष्ट्रिय बहसमा स्थापित गर्न आवश्यक रहेको उनले बताए।
तरुण दललाई थप व्यवस्थित, सक्रिय र स्वायत्त बनाउँदै युवाको सहभागिता तथा नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए। उनका अनुसार सङ्गठनका अधिवेशन समयमै सम्पन्न गर्दा युवालाई जिम्मेवारी दिने र सङ्गठनलाई गतिशील बनाउने प्रक्रिया अघि बढाउन सहज हुनेछ।
कांग्रेसका अधिवेशन हुन बाँकी रहेका अन्य भ्रातृ सङ्गठनहरूको अधिवेशन पनि एक वर्षभित्र सम्पन्न गर्नुपर्ने पौडेलले बताए।
कार्यक्रममा उनले तनहुँ कांग्रेसमा लामो समय योगदान गरेका केही पुराना नेताहरूको अनुपस्थितिले नेतृत्व पुस्तान्तरणको विषयलाई थप चर्चामा ल्याएको हुन सक्ने धारणा राखे।
पुराना नेताहरूको योगदान, त्याग र सङ्घर्षकै कारण नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै पौडेलले नेतृत्व हस्तान्तरणलाई सहज प्रक्रियाका रूपमा लिनुपर्ने बताए। नयाँ पुस्तालाई जिम्मेवारी दिनुका साथै उनीहरूको नेतृत्व क्षमता विकास गराएर उत्तराधिकारी तयार पार्न पुराना नेताहरूले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
कांग्रेसलाई लोकतन्त्रको संरक्षणमा प्रतिबद्ध पार्टीका रूपमा स्थापित गर्न अग्रज नेताहरूको भूमिका महत्त्वपूर्ण रहेको पनि उनले उल्लेख गरे।
